अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्मा आशिका तामाङको व्यंग्यात्मक कविता: ‘ग्यास, ग्यास, ग्यास !’

संसद्मा आशिका तामाङको व्यंग्यात्मक कविता: ‘ग्यास, ग्यास, ग्यास !’


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशमा देखिएको ग्यास अभावको विषयलाई प्रतिनिधिसभामा व्यंग्यात्मक कविता मार्फत उठाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले ग्यास संकटका कारण सर्वसाधारणले भोग्नु परेको सास्ती र वितरण प्रणालीमा देखिएको असमानताप्रति सरकारको ध्यानाकर्षण गराइन्। कविता शैलीमा प्रस्तुत उनको अभिव्यक्तिले संसद्‌मा ग्यास अभावको समस्यालाई सशक्त रूपमा उजागर गरेको थियो।

‘ग्यास, ग्यास, ग्यास, भएन भने रोकिन्छ खाने गाँस’ भन्दै कविता सुरु गरेकी सांसद तामाङले बजारमा ग्यासको अभाव हुँदा पनि पहुँचवालाहरूले एकैपटक तीन–तीन वटा सिलिन्डर भरेर लैजाने गरेको उल्लेख गरिन्। त्यसका कारण सर्वसाधारणको घरमा ‘हाहाकार, भोक र प्यास’ को अवस्था सिर्जना भएको उनको भनाइ थियो।

सरकारले ग्यास पर्याप्त हुने दाबी गरिरहे पनि जनताले रातदिन खाली सिलिन्डर बोकेर विभिन्न डिपो धाउनुपरेको अवस्था रहेको उनले बताइन्। थानकोटका बासिन्दाले समेत ग्यास भर्न बालाजु र टेकुसम्म पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद तामाङले ग्रामीण क्षेत्रका नागरिकको पीडा झन् गम्भीर रहेको संकेत गरिन्।

कविताको अन्त्यमा उनले आफ्ना गाउँघरका बासिन्दाको अवस्था स्मरण गर्दै ‘कहिले बन्छ ग्यास भर्ने पँधेरो’ भन्ने प्रश्नमार्फत ग्यास वितरणलाई सहज, पहुँचयोग्य र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरिन्।

यस्तो छ आशिका तामाङको कविता

ग्यास, ग्यास, ग्यास

भएन भने रोकिन्छ खाने गाँस

हातमा छ क्यास

तर, बजारमा छैन ग्यास

पहुँच हुनेवालाहरूले लान्छन्

छानीछानी भरि सिलिन्डर तीन वटासम्म ग्यास

अनि हुँदैन त छिमेकीको घरमा

हाहाकार, भोक र प्यास !

सरकार भन्छ– पुग्नेछ ग्यास

जनताहरू रात–दिन सडकमा छ

बोकी सिलिन्डर बोकी उठीबास

थानकोटको मान्छे

खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु

यीनका मनको पीडा म कहाँ गइ पोखुँ

लाग्दछ, मलाई रमाइलो

मेरै पाखा पखेरो

हिमाल फेदी मुन्तिर

कहिले बन्छ ग्यास भर्ने पँधेरो ।