अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई सत्तारुढ सांसद रञ्जु दर्शनाको प्रश्न- स्वास्थ्य बिमा कार्यक्रम किन रोकियो ?

सरकारलाई सत्तारुढ सांसद रञ्जु दर्शनाको प्रश्न- स्वास्थ्य बिमा कार्यक्रम किन रोकियो ?


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना (न्यौपाने)ले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नागरिकहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले स्वास्थ्य बिमा सेवा रोकिँदा सर्वसाधारण बिचल्लीमा परेको बताउँदै जुनसुकै उपाय अपनाएर भए पनि कार्यक्रमलाई पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिन्।

‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो, नागरिकले उपचार नपाएर दुःख पाइरहेका छन्’ सांसद सांसद रञ्जुले भनिन् ।

सांसद रञ्जुले काठमाडौंको थापाथली क्षेत्रमा निर्माणको तयारी भइरहेको फोहोर प्रशोधन केन्द्रबारे पनि चासो व्यक्त गरिन्। स्थानीयवासीले उक्त स्थानमा फोहोर प्रशोधन केन्द्र निर्माणको विरोध गरिरहेको उल्लेख गर्दै उनले आमा र बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा सरकार संवेदनशील हुनुपर्ने बताइन्।

‘के बन्न लागेको हो भन्ने स्पष्ट सूचना छैन, तर निर्माणको तयारी भइरहेको छ। त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन्, सांसद रञ्जुले भनिन्, ‘आमा र बच्चाको स्वास्थ्यका लागि सरकार संवेदनशील बन्न आवश्यक छ।’

सांसद न्यौपानेले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकहरूको समस्या पनि संसद्मा उठाइन्। गत भदौ २४ गते भएको घटनामा सुनसमेत लुटिएपछि पीडितहरूले न आफ्नो सुन फिर्ता पाएको न त्यसको मूल्य प्राप्त गरेको भन्दै उनीहरूको गुनासो सुनिदिन सरकारसँग आग्रह गरिन्।

सत्तारुढ दलकी सांसदले नै स्वास्थ्य बिमा, स्थानीय जनस्वास्थ्यको विषय तथा सुन धितो पीडितहरूको समस्या उठाउँदै सरकारसँग जवाफ मागेपछि सरकारको सेवा प्रवाह र संवेदनशीलतामाथि प्रश्न उठेको छ।