अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट

नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट


काठमाडौं-नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले एभरेष्ट अस्पतालको बिल तथा परीक्षण सेवामा २० प्रतिशत र शल्यक्रिया कक्ष (ओटी) तथा फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन्।

कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू नहुने उल्लेख छ।

अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने प्रावधान पनि सम्झौतामा समेटिएको छ।

सम्झौताअनुसार कोषका कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ।

त्यसैगरी, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा दुवै संस्थाले प्राप्त गर्ने सूचना सुरक्षित र गोप्य राख्नुपर्ने सम्झौतामा उल्लेख छ।

यस सम्झौताबाट नागरिक लगानी कोषसँग आबद्ध सहभागी, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले एभरेष्ट अस्पतालमा उपचार गराउँदा तोकिएका स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्न सक्नेछन्।