अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर जनसभा : प्रमुख नेतासहित सहभागीहरूको उपस्थिति सुरू

विराटनगर जनसभा : प्रमुख नेतासहित सहभागीहरूको उपस्थिति सुरू


नेपाल कम्युनिस्ट पार्टीले आज विराटनगरमा आयोजना गरेको जनसभामा सहभागिता जनाउन नेता, कार्यकर्ता र समर्थक सर्वसाधारणको उपस्थिति सुरू भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने जनसभामा देशका विभिन्न जिल्लासहित प्रदेश १ का विभिन्न जिल्ला र स्थानीय तहबाट नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उपस्थिति सुरू भएको हो ।

प्रदर्शनीस्थल मुनालपथमा हुने आजको जनसभालाई प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत नेताहरूले सम्बोधन गर्दै हुनुहुन्छ ।

‘प्रधानमन्त्रीज्यू विराटनगर आइपुग्नु भएको जानकारी छ । अबको केही बेरमा नै कार्यक्रमस्थलमा आइपुग्नु हुनेछ । लगत्तै उहाँले जनसभालाई सम्बोधन गर्नुहुनेछ,’ नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले नेपाली बहससँग भन्नुभयो ।

अरू विशिष्ट नेताहरू पनि अबको केही समयभित्रै कार्यक्रम स्थलमा पुगेर सम्बोधन गर्ने नेता घिमिरेले जानकारी दिनुभयो ।

नेकपा प्रदेश १ को आयोजनामा सम्पन्न हुने आजको जनसभामा दुई लाख भन्दा बढी सहभागीहरूको उपस्थिति रहने बताइएको छ ।

सार्वजनिक तथा रिजर्व बसलगायत सवारी साधनबाट हिमाली जिल्ला सङ्खुवासभा, ताप्लेजुङदेखिका समर्थकहरूको बाक्लो उपस्थित हुने क्रम रहेको जनसभा आयोजकले जानकारी दिएको छ ।