काठमाडौँ-नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील हुने भए पनि सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र राष्ट्रप्रतिको योगदान दीर्घकालसम्म स्मरणमा रहने बताएकी छन्।
नेकपा एमाले जिल्ला कमिटी दोलखाले आइतबार आयोजना गरेको ‘आनन्द पोखरेल : विचार सङ्घर्ष र नेतृत्व’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक जीवनको मूल्याङ्कन पद र पदावधिबाट मात्र गर्न नहुने धारणा राखिन् ।
‘राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील हुन्छन्, तर सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र उसले स्थापित गर्न खोजेका मूल्यहरू दीर्घकालसम्म स्मरणमा रहन्छन्,’ भण्डारीले भनिन्।

उनले राजनीतिक व्यक्तित्वको मूल्याङ्कन समाज र राष्ट्रप्रति पुर्याएको योगदानका आधारमा समेत गरिनुपर्ने बताइन्। राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै उनले सार्वजनिक जीवनमा सक्रिय व्यक्तिको अनुभव र यात्राबाट राजनीतिको वास्तविक मूल्य बुझ्न सकिने धारणा व्यक्त गरिन्।
भण्डारीले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको आवश्यकता रहेको बताउँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एक-अर्काका विकल्प नभएको उल्लेख गरिन्। दुवै पुस्ताबीचको सहकार्य र संवादबाट राजनीतिक तथा सामाजिक यात्रालाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।



प्रतिक्रिया