अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकको ४२औँ साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश पारित

नबिल बैंकको ४२औँ साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश पारित


काठमाडौं-नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप दायित्व ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले वृद्धि भई ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल वासलातको आकार पनि १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

साधारणसभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए। बैंकले आफ्ना शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाको अधिकार र चासोलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले बताए।

साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

बैंकका अनुसार हाल नबिलले देशभर २६२ शाखा र ३१६ एटिएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ। बैंकले सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने लक्ष्यसमेत अघि सारेको छ।

त्यस्तै, बैंकले आफ्नो भिजन तथा मिसनलाई परिमार्जन गर्दै पञ्चतत्वमा आधारित पाँच ‘टी’-ट्रस्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसनको अवधारणालाई अघि बढाएको जनाएको छ।

साधारणसभा उद्घाटनका क्रममा बैंकले मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुति समेत आयोजना गरेको थियो। बैंकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ।