अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटीको पहिलो बैठक: के-के भयो निर्णय ?

एमाले स्थायी कमिटीको पहिलो बैठक: के-के भयो निर्णय ?


काठमाडौँ-नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिसहितका महत्वपूर्ण निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार एजेन्डामाथि छलफल गरेको हो।

बैठकमा वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ, संगठनसम्बन्धी प्रस्ताव, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय तथा मधेस प्रदेशको समानुपातिक उम्मेदवार चयनलगायत विषय एजेन्डाका रूपमा प्रस्तुत भएका थिए। बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी छन्। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीलाई एमालेले वरिष्ठ नेताको जिम्मेवारी दिएपछि पार्टीभित्र उनको भूमिकालाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

त्यस्तै, एमालेले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका तहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले अधिवेशनको मिति तय गरिएको हो।

बैठकले अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउने निर्णय गरेको छ। जिल्ला तहमा नेतृत्व रिक्त हुँदा संगठनात्मक काम प्रभावित नहोस् भन्ने उद्देश्यले स्थानीय कमिटीबाटै अध्यक्ष चयन गर्ने व्यवस्था गरिएको हो।

यसैगरी, मधेस प्रदेशसभाको समानुपातिकतर्फ रौतहटबाट निर्वाचित एमालेकी सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीमा रहेकी नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ। नाजमा बन्दसूचीको सम्बन्धित क्रमअनुसार रहेकी उम्मेदवार हुन्।

स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी केही विषयमा समेत छलफल भएको छ। तीमध्ये केही विषयमा थप छलफल आवश्यक रहेकाले बैठकलाई शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव भट्टले जानकारी दिएका छन्।

यसरी एमालेको नयाँ स्थायी कमिटीले पहिलो बैठकबाटै संगठन पुनर्संरचना, स्थानीय तहका अधिवेशन, राष्ट्रिय तथा प्रदेशस्तरीय भेला, रिक्त जिल्ला नेतृत्व पूर्ति र समानुपातिक सांसदको रिक्त पदपूर्तिलगायत विषयमा आगामी कार्यदिशा तय गरेको छ।