अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बन्ने नयाँ संसदले देशलाई स्थायित्व दिन्छ : गृहमन्त्री

अब बन्ने नयाँ संसदले देशलाई स्थायित्व दिन्छ : गृहमन्त्री


विराटनगर- नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब बन्ने नयाँ संसदले देशलाई स्थायित्व दिने बताउनु भएको छ । आज पार्टीको १ नं. प्रदेश कमिटीले विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री बादलले देशको प्रगति, सुशासन र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व नै पहिलो शर्त भएकाले अब जनताकासामु गएर निर्वाचनमार्फत बन्ने नयाँ संसदले देशमा स्थायित्व आउने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार नै आफ्नो विशेष अधिकार प्रयोग गरेर संसद विघटन गर्नु भएको पनि गृहमन्त्री बादलले बताउनु भयो ।

‘देशमा स्थायित्व होस्, देशले स्थिरता पाओस् भनेर देशको प्रगतिको लागि प्रतिनिधि सभा विघटन गरिएको हो,’ विघटित संसद भित्रबाट सरकारले काम गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो, ‘अब निर्वाचनबाट बन्ने नयाँ संसदले देशमा विकास र स्थायित्वको गति समाउने छ ।’

अहिले देशमा लोकतन्त्र र गणतन्त्र व्यवस्थाविरोधी केही शक्ति र प्रवृत्ति रहेकाले तिनीहरूलाई पनि छिट्टै मुलधारको राजनीतिमा ल्याइने उहाँले उल्लेख गर्नुभयो ।

‘यो सरकारले सुशासनका पक्षमा धेरै राम्रा काम गरेको छ । उपराधीहरूलाई हामी कानूनको कठघरामा ल्याउँछौं । भगिरथीको हत्यारालाई हामीले कानूनको कठघरामा ल्याएका छौं,’ गृहमन्त्री बादलले भन्नुभयो ।

पार्टी र सरकारले राम्रा काम गर्दा गर्दै पनि पार्टी भित्रकै षड्यन्त्रले काम गर्न नपाएकाले अब चुनावमा गएर अस्थिरतावादी र अवसरवादीलाई तह लगाइने पनि उहाँले बताउनु भयो