अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुमपूर्वको सिस्नेमा दुई दिनदेखि आगलागी, दर्जन बढी बस्ती जोखिममा

रुकुमपूर्वको सिस्नेमा दुई दिनदेखि आगलागी, दर्जन बढी बस्ती जोखिममा


रुकुमपूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका-२ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् ।

सिस्ने-२ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने–२ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताउनुभयो ।

उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।

डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । डढेलो नियन्त्रणमा नआएपछि जिल्लासुरक्षा समितिको बैठकसमेत बसेको छ ।

बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताउनुभएको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।