अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्यान्ड्समा आमनिर्वाचन सुरू, तीन दिन मतदानको व्यवस्था

नेदरल्यान्ड्समा आमनिर्वाचन सुरू, तीन दिन मतदानको व्यवस्था


दी हेग- युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान सुरु भएको छ ।

कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ ।

कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कफ्र्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमबार बिहान ७ः३० बजेदेखि मतदान स्थल खुला गरिएको छ । कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ ।

एएफपीका पत्रकारका अनुसार दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् ।

मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कफ्र्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।

तर सन् २०१० देखि सत्तामा रहनु भएका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ । यो विजयपछि उहाँले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउनु हुनेछ ।

पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् ।

नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ ।

गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४:३० बजेसम्म लगाइएको कफ्र्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिनु भएको छ ।

सन् २०१७ को चुनावमा अति-दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ ।

ब्रेक्जिट र ट्रम्प दुबै विषय अहिले ओझेलमा परेकाले विल्डर्सको दलले प्रधानमन्त्री रुटलाई विस्थापित गर्ने सम्भावना कमजोर भएको छ ।