अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन


दारेसलाम- तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ ।

तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका ६१ वर्षीय मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा पर्नुभएको थिएन । यसैकारण पनि उहाँको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उहाँलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

तर, पनि यस विषयमा सरकारले आधिकारिक रूपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताहरूले भने उहाँलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर, यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गत साता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र जानकारी सञ्चारमाध्यममार्फत् दिनुभएको थियो ।

उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनुभएको छ ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उहाँ देशको राष्ट्रपति घोषित हुनुभएको थियो ।

गत वर्षको चुनावपछि उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल हुन्छ । अब उहाँको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नुहुने छ ।