अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको एक वर्ष : नानाभाँती भोगाइ

कोरोनाको एक वर्ष : नानाभाँती भोगाइ


बेलाबखत नयाँनयाँ खाले भाइरसहरू देखा पर्नु, त्यसले खासखास क्षेत्रमा प्रभाव पार्नु कतैकतै महामारीको रूप लिनु नियमित विश्वघटना हुन् । चीनमा नयाँखाले कोराना भाइरस देखिएको, त्यसको नाम कोभिड-१९ राखिएको र त्यसले मानिसहरुलाई आक्रमण गर्न थालेको समाचार गाउँसम्म पुग्यो । त्यसले त बुआन नामको सहरलाई नै अस्तव्यस्त बनाइसक्यो, राजधानी बेइजिङलाई आक्रमण गरिसक्यो, दक्षिण कोरिया पुगिसक्यो भन्ने समाचार फैलिँइसक्दा सम्मपनि गाउँलेको बुझाइमा त्यसले सहरियालाई मात्रै भेट्छ भन्ने लागिरह्यो । आफूलाई गाउँभरीकै प्रखर जान्नेसुन्ने ठान्ने र स्थानीय सेरोफेरोमा अरुले पनि पत्याएका अगुवाहरु ‘हामी गाउँमा बस्नेलाई केही हुँदैन’ भनिरहे । ‘रक्सी खाइरहनेलाई छुँदैन’ भन्नेहरू पनि निस्किए ।

भूकम्पको बेला चर्चित ‘इपिसेन्टर’ फेरि सुनिनथाल्यो । कोरानाको इपिसेन्टर सरिरह्यो । चीन, कोरिया, इरान, इटली, फ्रान्स, अमेरिका, रुस, ब्राजिल, भारत, पालैपालो । इटलीका थुप्रै गाउँहरू रित्तो भएको, पादरीहरूलाई परमेश्वरले बचाउन नसकेको, पुरोहितहरू नभएर मृतकहरूको अन्त्येष्ठी गर्न कठिन भएको कुराले बल्ल आम मानिसहरूलाई छोयो । अब मानसिकता क्रमशः त्रासतर्फ मोडिनथाल्यो । गाउँका जान्नेसुन्नेहरू स्वयम् त्रसित हुन थाले ।

वनमारा र पहिरोले खाइसकेका बाटाहरू खोजीहुन थाल्यो । मान्छेहरू ग्वारग्वार्ती हिड्न थाले । यो गाउँबाट त्यो गाउँ, त्यो गाउँबाट त्यो गाउँ, यता उता, उता यता । पहिला बजारमा मात्रै मान्छे देखिन्थे, अब बाटाभरि बग्रेल्ती लस्करका लस्कर ।

के हो कोरोना भाइरस ? यसले मान्छेलाई कसरी आक्रमण गर्छ ? यसको लक्षण के हो ? यसबाट कसरी बच्ने ? यसको उत्पत्तिको कारणमै फरकफरक धारणाहरू आए । चमेरोबाट मान्छेमा सरेको । हैन, मान्छेबाट विभिन्न जनावरहरु हुँदै चमेरोमा पुगेको अनि चमेरोबाट मान्छेमा आइपुगेको । प्रयोगशालामा बनेको, बन्दाबन्दै उम्किएर शहरमा फैलिएको । चीनले अमेरिका सिध्याउन बनाएको, आफैँतिर बुम्राङ भएको । चीनले आफैले आफ्नो खुट्टामा बन्चरो हान्यो, चीन दीर्घरोगी भयो ।

डा लि बेन्लियाङले कोरोना भाइरसले छिट्टै महामारीको रूप लिने चेतावनी दिएका थिए तर चीनको पुलिसले समातेर ‘हावादारी नबोल्ने’ कागजमा ल्याप्चे लगाउन लगायो । संक्रमणको दर ह्वात्तै बढ्यो । अनि बिरामीको उपचार गर्दागर्दै बिरामीबाट संक्रमित भएर उनै डाक्टरको मृत्यु भयो, चीन सरकारले जनतासँग माफीमाग्यो । डा लिलाई मरणोपान्त हिरो घोषणा गर्‍यो ।

कोरानाको उत्पत्ति थलो मध्यचीनको वुहानमा कोराना संक्रमितको उपचार गरेर नेपाल आएको दावी गर्ने डा. रमेश आचार्यको भिडियो खुब चल्यो । त्यसमा उहाँले भन्नुभयो, ‘कोरानाले आक्रमण गरेपछि, एक, एकाएक ज्वरो बढेर १०२ डिग्री भन्दा माथि पुग्छ, अरु अवस्थाको जस्तो ९७, ९८, ९९ हुँदै बढ्दैन । एक्कासि १०२ भन्दामाथि पुग्छ, एकहप्ता लगातार आउछ, एक डिग्री पनि घट्दैन । दुई, देबे्र छातीको तल्लो भागमा बेसरी दुख्छ । तीन, प्राय राती सुख्खा लहरेखोकी आउछ । र्‍याल, सिंगान, खकार आउदैन ।’ मान्छेपिच्छे फरकफरक लक्षण हुन्छ भन्ने पनि आउनथाल्यो । गन्ध थाहा हुँदैन भन्थे, जे पनि गन्हाउँछ भन्ने पनि देखा परे । केटाकेटी, बुढाबुढी र रोगीलाई मात्रै यसले समात्छ भन्ने थेसिससँगै लक्का जवानको मृत्यु, क्यान्सर रोगीलाई केही भएन, १०६ वर्षको वृद्धले कोरोना जितेका खबर पनि आइरहे । ‘मोर रिडिङ मोर कन्फ्युजिङ’ भनेझै जति सुन्यो, जति पढ्यो, जति हेर्‍यो उति अलमलको अवस्था झनझन बढ्दै गयो । सबैको समान चै सास बढ्नु ।

कोरोना शब्द त्यसै पनि नयाँ थियो, आममानिसहरूलाई नयाँ लाग्ने अरु थुप्रै शब्दहरू व्यापक प्रचलनमा आउन थालेः स्वाब, क्वारेन्टिन, आइसोलेसन, सामाजिक दूरी, लकडाउन । त्यसमध्ये लकडाउन सबैभन्दा बढि प्रचलित भयो । नेपाली समाजमा स्थापित निकै सस्तो शब्द ‘नेपालबन्द’ केही वर्षहरु देखि अलि दुर्लभ हुन थालेको बेला सबैलाई नयाँ लाग्ने शब्द ‘लकडाउन’ आइपुग्यो, पोहोर । शब्दमात्रै आएन, व्यावहारमै भोग्नुपर्‍यो । सुरूमा शब्दलाई सबैले बुझेनन् । यो अँग्रेजी शब्द हो भन्नेसम्म बुझे । खुङ्खार अंग्रेजीबाजहरुले पनि यसको व्यावहारिक अर्थ बुझेका थिएनन् । कतिले भने ‘लक’ माने तालाचाबी, ‘डाउन’ माने तल झार्नु भन्दै अरूलाई बुझाएको पनि पाइन्थ्यो । लकडाउन नेपालीले बुझेनन् भन्ने सरकारी ठूलाबडाले बुझेर होला यसको नेपाली शब्द पनि जनताको कानमा आइपुग्यो, बन्दाबन्दी । यसको अर्थ लगाउनलाई भाषाविद्, व्याकरणविद्को कमी थिएनः ‘बन्दा’ भनेको बन्द हो, ‘बन्दी’ भनेको पनि बन्द नै हो । सबैथोक बन्द ।

विश्वभरी लकडाउनको लहर चल्यो । सरकारले लकडाउनको पूर्वसंकेत दिनथाल्यो । मानिसका गतिविधिलाई क्रमशः नियन्त्रण हुनथाले तर मान्छेहरू झन चलमलाउन थाले । विभिन्न उद्देश्य बोकेर गाउँबाट शहर पसेकाहरू हुर्रिएर गाउँ फर्किन थाले । आफ्नो गाउँ जाने बाटै बिर्सिसकेकाहरू पनि बाटो सोध्दै आफ्नो गाउँ आइपुगे । गाउँको नामै सुन्दा एलर्जी हुनेहरू ‘गाउँको पानी मिठो, गाउँको हावा मिठो, गाउँको खानेकुरा मिठो, गाउँको मान्छे मिठो’ भन्नथाले, सुन्नेको कानै दुख्नेगरी । गाउँहरू गुल्जार हुन थाले । ‘अन्ततः चैत्र ११ बाट पुरा देशभरी लकडाउन सुरू भयो । लकडाउन भएपछि सबैकुरामा ताला लाग्यो । सबैभन्दा ठुलो प्रभाव चैं सडकमा देखियो, गाडी गुड्नछाल्यो, चौबिसै घण्डा गाईँगाँई गाइँईगुँई टाँटाँटिँटि गर्ने सडक सुनसान भए । शहरबाट पोकापन्तुरा बोकेर हिँडेरै गाउँपुग्नेहरूले गाउँ रनघन भयो । दशैंजत्तिकै भयो । गाउँका टोलटोलका जाँडरक्सी कारखानाहरू टानाटान हुनथाले । सुँगुर, रागा कति ढले ढले । एउटा पाठो सुँगुरको मासु नउठ्ने गाउँको टोलमै मत्ता सुँगर चोक्टाचोक्टा चुँडिन थाल्यो । कुखुराको चल्लै हुर्किन मुस्किल पर्नथाल्यो ।

लकडाउन सकिएपछि शहर फिर्ने बिचारले गाउँमा पाहुना बन्न पुगेका शहरीयहरु लकडाउन थपिएको थपिए भएपछि कोही निराश भए कोही गाउँमा जरा गाड्ने निश्कर्षमा पुगे, लकडाउन खुलेपछि शहरमा बाँकी झिनाझम्टा ल्याउने योजनामा बुन्नथाले । सबैखाले मान्छे गाउँमा थुप्रिएपछि गाउँमा जनशक्तिको कमि भएन । खेतीका काम फटाफट भए । कैयौ वर्षदेखि बाझिएका खेतबारी खोतिए, खनिए र बीउ उमारिए ।

मोटर पो बन्द हो त, मान्छे नै बन्द त हैन नि ! सडक सञ्जालले मेटिएका पुराना घोरेटा गोरेटाहरूलाई मानिसहरूले सम्झिन थाले । वनमारा र पहिरोले खाइसकेका बाटाहरू खोजीहुन थाल्यो । मान्छेहरू ग्वारग्वार्ती हिड्न थाले । यो गाउँबाट त्यो गाउँ, त्यो गाउँबाट त्यो गाउँ, यता उता, उता यता । पहिला बजारमा मात्रै मान्छे देखिन्थे, अब बाटाभरि बग्रेल्ती लस्करका लस्कर ।

केटाकेटी सबैभन्दा घाँटो भए । स्कुल बन्द । स्कुले केटाकेटी घरमा थामीनसक्नु । कोलाहल । बालमैत्रीको जो जुग छ, उहिलेजस्तो सिर्कनाले हानेर केटाकेटी ठेगानमा राख्नुपनि मिलेन । गाउँमा भन्दा शहर समस्या । एकदुई दिन छुट्टि हुँदा रमाउने केटाकेटी आफैँ पनि दिक्क हुनथाले । शहरका केटाकेटी कति खेल्नु । गाउँका केटाकेटी कति गाइभैसी बाख्रा गोठाला गर्नु । कहिल्यै पढाइमा ध्यान नदिने केटाकेटी, कहिल्यै आफ्ना बच्चाको पढाइमा ध्यान नदिने अभिभावक खुबै चिन्ता गर्नथाले, पढाइ बिग्रियो । पढाइ ध्यान दिने केटोकेटी र उनका अभिभावकले चैं हामीमात्रै हैन, नेपालका मात्रै पनि हैन, संसारकै अवस्था यस्तै हो, अहिले पढाइलेखाइभन्दा आफु कसरी सुरक्षित हुने प्रमुख हो भन्ने बुझेको देखियो । सामान्य अवस्थामा पढाइ प्रति कुनै लगाव र चिन्ता नभएका केटाकेटी र तिनका अभिभावक भने पढाइ बिग्रिएकोमा खुबै चिन्ता देखियो, मानौ उनीहरु पढाइमा अब्बल थिए, लकडाउनले उनीहरुको मात्रै पढाइ बिगार्‍यो ।

लकडाउनभन्दा आधा लकडाउन धेरै पीडादायी भयो । किन भने लकडाउन भर मानिसहरू आफ्ना आवश्यकता र समस्याहरूलाई मनले जितेर बसे ।

लकडाउन धेरैलाई दशा, थोरैलाई दसा । दुइचार गाउँबीचका ठुला दोकानहरुलाई । महिनौदेखि थन्किएर कुहिनलागेका मालहरु गाउँपसे, लुछाचुडिमा, महङ्गोमा । जीवनमा पहिलो पटक मास्क लगाएको अनुभव गर्नुपर्‍यो, धेरैलाई । पाँचको मास्क पचाससम्ममा चल्यो । क्वारेन्टिनवाला, स्यानिटाइजरवाला, लजिस्टिकवाला, मास्कवाला, जनचेतनावाला, पासवालाहरुलाई सुपर बम्पर उपहार पर्‍यो । सामाजिक दुरीको तालिम दिएर, लिएर, कुमकुम जोडेर खिचेका रङ्गविरङ फोटोहरुले सामाजिक सञ्जाल राम्ररी रङ्गिायो ।

लकडाउन बिस्तारै खुकुलो हुन थाल्यो । दशैको दायरा बढेर गाडीमा पुग्यो । साना गाडी चल्ने भए, ठुलालाई दसाले छोडेन । सानालाई दशैँ सुरू भयो । हरेक सरकारका हरेक निर्णय बाठाहरुलाई फाइदा हुने खालका हुनु नेपालको बिशेषता यसपालि नदोहरिने कुरै भएन । सरकारले आदेश गर्‍यो, ‘गाडीमा सिट सङ्ख्याभन्दा आधा यात्रु राख्नु, पचास प्रतिसत भाडा लिनु’ । गाडीवालाले गरे, ‘पचास प्रतिशत यात्रु बोकेपछि दुई सय प्रतिसत भाडा ।’ पुलिसले नेदेख्नेतिर सिटमा नअटेर काखमा पनि यात्रु बोके, भाडा दोब्बर लिए । लकडाउन भरिको घाटा एकै महिनामा असुलेर अतिरिक्त नाफा गरेको खुलमखुला बताउने गाडी साहुहरु पनि भेटिए ।

मेरो आफ्नै अनुभव । पहाडबाट मधेश झर्ने पर्नेछ । बल्लबल्ल लकडाउन अलिकति खुकुलो भएको छ । भोजपुरबाट धरानसम्म जीप भाडा एक जनाको एक हजार । लेगुवा भोजपुर ६८ किलोमिटर कच्ची हुँदाको, पक्की भइसकेपछि पनि उही । कोरोना कालमा सरकारले भनेको १५ सय । जीप लिन्छ पच्चिस सय । मान्छे लामो दुरीको त थोरै नै, तर ‘लोकल’ कति हो कति ? ठाउँठाउँमा रोक्दो छ, चढाउदो छ, ओराल्दो छ, भाडा दोब्बरभन्दा अलिक बढि लिँदो छ ।

विज्ञहरूले भनेका थिए, कोरोना भाइरसले २० डिग्रीभन्दा बढी तापक्रम सहन सक्दैन, पुक्लुकपुक्लुक मर्छ भन्थे । असार/साउनको गर्मीमा पनि संक्रमण रोकिएन, तिनै विज्ञहरू भन्न थाले, ‘हामीले त गर्मीमा कोराना झन सक्रीय हुन्छ भनेकै हो, कसैले सुनेन !’

धरानबाट बिराटनगर लाने अटोहरु मानौ भोकाएको गोहीहरू हुन्, यात्री भोका गोहीहरु बीचको मृग । १५ सयदेखि सुरू भएर ८ सयमा कुरा मिल्यो । तर, बीचमा मान्छे हाल्न झार्न छाडेको हैन । बिराटनगर बसपार्क पुगेपछि निहुँ खोज्न थाल्यो, यत्ति नै, बसपार्कमा भनेको । अनि त आफूले पनि मुख छाड्नु पर्‍यो, पाखुरा सुर्किनु पर्‍यो । फर्किदा उस्तै । भेडेटारदेखि स्यामसिलासम्म, अर्थात् भोजपुर पुग्न पन्द्र किलोमिटर वरै, आएका दुइजनाले तेह्र हजार तिरेको बताए ।साधारण अवस्थामा ती जीपले एक तर्फ १० हजार कमाउने हो, त्यहा ३० हजार कमाएको देखियो । यात्रा पासको भनसुन र चलखेल भोग्नेहरू कम रहेनन् । लकडाउनभन्दा आधा लकडाउन धेरै पीडादायी भयो । किन भने लकडाउन भर मानिसहरू आफ्ना आवश्यकता र समस्याहरूलाई मनले जितेर बसे । आधा लकडाउने मानिसहरुलाई आफ्नो मन जित्न दिएन, बाध्यताले जित्यो, । बाध्यताले गाडीवालाको कमाइ सफलीभुत पार्‍यो, तैपनि जीपवालाहरूले किस्ता मिनाहा गरिदिनुपर्‍यो सरकार भन्न छाडेनन् ।

एक वर्ष यसैगरी बित्यो । कोरोनाको दोश्रो तरङ्ग भारतबाट उकालो लागिसकेको समाचार आइपुगेको छ । सरकारका सल्लाकारहरू फेरी तम्सिएका छन् सरकारलाई सल्लाह दिन । अति थोरैले पाएको धेरैले नपाएको खोपले पहिलो खालेलाई काम गर्छ, दोश्रो खालेलाई काम गर्दैन भन्ने पनि आइरहेका छन् । भविष्य अनुमान गरेजस्तो भएन पोहोर त । विज्ञहरूले भनेका थिए, कोरोना भाइरसले २० डिग्रीभन्दा बढी तापक्रम सहन सक्दैन, पुक्लुकपुक्लुक मर्छ भन्थे । असार/साउनको गर्मीमा पनि संक्रमण रोकिएन, तिनै विज्ञहरू भन्न थाले, ‘हामीले त गर्मीमा कोराना झन सक्रीय हुन्छ भनेकै हो, कसैले सुनेन !’ हामी बबुरो । जाने बुझे जति सतर्क रहने, र जे पर्ला भोग्न तयार बस्नुभन्दा अर्को उपाए छैन ।