अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अण्डाः पोषणको भण्डार

अण्डाः पोषणको भण्डार


अण्डा पोषणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । विशेषगरि यसमा पाइने प्रोटिन हाम्रो शरीरका लागि अति उपयोगी र सजिलै पच्न र शोसिन सक्ने हालको पनि हुन्छ । बालबालिकादेखि युवा, वृद्धासम्मको प्रोटिन तथा अन्य पोषक आवश्यकता पूर्तिका लागि अण्डा फाइदाकर छ । विभिन्न अनुसन्धानहरुले अण्डाले मांसपेशी मजवुद बनाउनका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउने प्रमाणित गरेका छन् । अण्डा गर्भावस्थामा आमा तथा गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि पनि फाइदाकर मानिन्छ । मष्तिस्कको विकास, आँखाको स्वास्थ्य, भिटामिन इको शोसनमा सहयोग पुर्‍याइ कोषको क्षयिकरणमा कमीजस्ता महत्वपूर्ण फाइदा अण्डाबाट पाइन्छ ।

अण्डामा पाइने पोषक तत्व
एउटा अण्डामा करिब ७० किलो क्यालोरी शक्ति, शरीरलाई अत्यावश्यक १३ प्रकारका भिटामिन तथा खनिज र ६ ग्राम भन्दा बढी उच्च गुणस्तरको प्रोटिन पाइन्छ । अण्डामा शरीरले उत्पादन गर्न नसकी खानाबाटै पूर्ति गर्नुपर्ने ९ प्रकार अत्यावश्यक एमिनो एसिड पाइने भएकाले यसलाई पूर्ण प्रोटियुक्त खाना पनि भनिन्छ । यसमा प्रसस्त पाइने लुसिन नामक एमिनो एसिड मांसपेशीको स्वास्थ्यका लागि बरदान हो । अण्डा कोलिन, सेलेनियम, भिटामिन डि, भिटामिन बि १२, बि२, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको राम्रो श्रोत हो । अण्डाको पहेलो भागमा कालेस्टेरोलको मात्रा धेरै हुन्छ जसले चिल्लोमा घुल्ने भिटामिनहरु बोकेको हुन्छ । सन २००३ मा हार्वड विश्व विद्यालय र सन २००८ मा नर्थ क्यारोलिना विश्व विद्यालयमा गरिएको अनुसन्धानले अण्डाले स्तन क्यान्सरको खतरा कम गर्न पनि सहयोग गर्ने औंल्याएको छ ।

प्रति अण्डाबाट औसतमा दैनिक रुपमा आवश्यक भिटामिन एको ६ प्रतिशत, फोलेट ५ प्रतिशत, भिटामिन बि५ ७ प्रतिशत, बि२ १५ प्रतिशत, फास्फोरस ९ प्रतिशत, सेलेनियम २२ प्रतिशत सम्म प्राप्त हुन्छ । एउटा अण्डामा पाइने कोलेस्टेरोलको मात्रा दैनिक खानु पर्ने मात्राको झण्डै आधा हुन्छ । अण्डामा पाइने कोलिन मष्तिस्क र कोषको स्वास्थ्यका लागि राम्रो मानिन्छ । कसै कसैलाई अण्डा खाँदा छाला चिलाउने, आखा धुमिल हुने, रिंगटा लाग्नेजस्ता असर देखिन सक्छ । त्यो व्यक्तिको अण्डाप्रतिको एलर्जीका कारणले भएको हो । यस्तो एलर्जी खाना र व्यक्ति अनुसार फरक पर्दछ ।

अण्डाको उपभोग्य मिति
खानेकुराहरु कति समयमा बिग्रिन्छन् भन्ने कुरा खानेकुराको प्रकृति, उत्पादन तथा भण्डारण शैली, वातावरण आदि कुरामा निर्भर हुन्छ । उत्पादन भएको कति समयसम्म अण्डा नबिग्रि रहन सक्छ भन्ने कुरा भण्डारण गर्ने शैलि र वातावरणमा निर्भर रहन्छ । विशेष गरि नेपालजस्ता मुलुकमा ओसारपसार, भण्डारण, वितरण गर्ने वैज्ञानिक तरिका नअपनाउँदा अण्डा छिट्टै बिग्रिन्छ । तापक्रम र सापेक्षित आद्रता अनुकुल कायम नगरी कोठाको सामान्य तापक्रममा राख्दा अण्डामा जीवाणुहरुको संक्रमण छिटो हुन गइ चाँडो कुहिन्छ । यसरी बिग्रिएको अण्डा खाँदा साल्मोनेल्ला फुड पोइजनिङ हुनसक्छ ।

अण्डालाई कुनै पनि प्रशोधन नगरी सामान्य अवस्था मै सामान्य तापक्रममा राख्दा ७ देखि १० दिन मै बिग्रिन सुरु हुन्छ । तर तापक्रम, सापेक्षित आद्रता उचित कायम गरि भण्डारण गरेमा ४५ दिन भन्दा बढी स्वच्छ रहन्छ । उचित तापक्रम निरन्तर कायम गरि रेफ्रिजेरेटरमा २ महिनासम्म पनि कुनै पोषण तत्व नष्ट नभइ राख्न सकिन्छ ।

अण्डा बिग्रेको छ वा छैन कसरी चिन्ने ?
अण्डा बिग्रेको छ वा छैन भन्ने कुरा केहि हदसम्म चिन्न सकिन्छ । अण्डा विस्तारै हल्लाउँदा आवाज निस्किने गरि हल्लिन्छ भने बिग्रिएको हुनसक्छ । अण्डालाई विस्तारै फुटाएर हेर्दा पहेलो भाग एकै ठाउँमा नभइ छरिएको, धेरै तरल भएको, सेतो भागमा कालो धब्बाहरु भएको छ भने पनि बिग्रिएको संकेत हो । उसिनेको अण्डाको सेतो भागमा धेरै कालो भएको, पहेंलो भाग छरिएर रहेको, कुहिएको गन्ध आउने भएमा पनि उपभोग्य मिति सकिएको अण्डा हुनसक्छ ।

अण्डा बिग्रिएको छ वा छैन भन्ने अर्को सजिलो हरेलु जाँच तैरिने जाँच पनि हो । अण्डा सग्लै छिर्न सक्ने खालको सिसाको गिलास वा भाडामा आधा भन्दा बढी चिसो पानी राखि अण्डा डुबाउँदा भाडाको पिँधमै पुगेर बस्यो भने उपभोग्य मानिन्छ भने माथि नै तैरिएर रह्यो भने उपभोग्य मिति सकिएको वा बिग्रिएको मानिन्छ । यसरी तैरिने परीक्षण गर्दा अण्डा जति माथि तैरिन्छ त्यति नै पुरानो हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अण्डाको बाहिरी भागमा (बोक्रा) साना मसिना प्वालहरु हुन्छन जहाबाट हावा छिर्न सक्दछ । अण्डा जति पुरानो बन्दै गयो हावा छिर्ने निस्किने क्रम पनि उत्ति नै बढी हुन्छ जसका कारण अण्डाको घनत्वमा कमी आइ पानीमा तैरिन्छ । यसरी हावाको चलखेलका कारण बाहिरी वातावरणमा भएका जीवाणुहरु अण्डा भित्र पसि संक्रमण गर्ने खतरा उच्च हुन्छ ।

नेपाल अण्डा उत्पादनका हिसावले आत्म निर्भर बन्दै गइरहेको अवस्थामा यसलाई कसरी जनस्वास्थ्यमा असर नपर्ने गरि उत्पादन, बिक्री वितरण, भण्डारण गर्न सकिन्छ भन्नेतिर पनि ध्यान दिन जरुरी छ । यसका लागि उत्पादक देखि वितरकसम्म जिम्मेवार बन्ने र उपभोक्ता सचेत बन्न जरुरी छ । उत्पादकहरुले अण्डाको कार्टुनमा उत्पादन तथा उपभोग्य मिति लेख्न जरुरी छ । पछिल्लो समय अण्डा मै पनि प्रिन्ट गर्न सकिने प्रविधिको विकास भइसकेको हुनाले प्रत्येक अण्डामा पनि उपभोग्य मिति राख्न सकिन्छ तर व्यवहारिकताका दृष्टिले अलि झन्झटिलो र महंगो हुने हुनाले अण्डाको ब्याच अनुसार प्याकिङ गरिएको कार्टुन वा क्यारेटमा उपभोग्य मिति राख्न सकिन्छ । खुद्रा व्यापारीहरुले उपभोक्ताले देख्ने गरी उक्त उपभोग्य मिति राख्ने चलनको विकास गर्न जरुरी छ । पोषणका दृष्टिले महत्वपुर्ण मानिने अण्डाको स्वच्छता कायम गर्न सके यसबाट उपभोक्तालाई मात्र नभइ उत्पादक र बिक्रेतालाई पनि फाइदा पुग्नेछ ।
(लेखक पोषणविद् हुन्)