अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा भूकम्पको ६ वर्ष पूरा : पुर्ननिर्माणमा उल्लेख्य प्रगति

गोरखा भूकम्पको ६ वर्ष पूरा : पुर्ननिर्माणमा उल्लेख्य प्रगति


काठमाडौं- गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको आज ६ वर्ष पूरा भएको छ ।

०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा बारपाक केन्द्रविन्दु भएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो दिन नेपाल र नेपालीका लागि कालो दिन थियो । सोही भूकम्पको छैटौँ स्मृति दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । कोरोना महामारी तीब्र गतिमा फैलिइरहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दिवस मनाइनेछ ।

सो भूकम्पले ८ हजार ९ सय ७९ जनाको ज्यान लिएको थियो । २२ हजार ३ सय ९ जना घाइते भएका थिए । भूकम्पले सम्पदा, घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय मठमन्रि लगायत कैयौं भौतिक संरचनामा अरबौंको क्षति पुर्‍याएको थियो । सो भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । संखुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी भने भूकम्बाट कम प्रभावित बनेका थिए ।

भूकम्पपछिको पुर्ननिर्माणमा केपी शर्मा ओली नेतृत्वको सरकारले उल्लेख्य प्रगति गरेको छ । ढलेका सम्पदा उठ्दै छन् । भूकम्पले क्षतिग्रस्त बनेको धरहरा उठेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरिसक्नुभएको छ । रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रंशाला लगायत महत्वपूर्ण संरचना पुर्ननिर्माण भइसकेका छन् । कोही पुर्ननिर्माण भइरहेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरेर पुनर्निर्माणमा भएको प्रगतिबारे जानकारी गराइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको छ । उहाँका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ अर्थात करिब ९३ प्रतिशत पुगेको छ । पहिलो किस्ता वितरण ९९ दशमलव ८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६ दशमलव ७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८ दशमलव ६६ प्रतिशत पुगिसकेको छ । यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।

पुनर्निर्माणका क्रममा आएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुको सम्बोधन गरिएको छ । घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २ सय ५४ सामाजिक परिचालकहरुको परिचालनसहित विशेष अभियान अघि बढाएको छ । त्यसका लागि साझेदार संस्थाहरुलाई पनि परिचालन गरिएको छ ।

उहाँका अनुसार भूकम्पपछि २ सय ९९ वटा असुरक्षित ठाउँमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर वातावरण मिलाइएको छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण चल्दैछ । भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । यी विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ

कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २ सय ९६ को पुनर्निर्माण जारी छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ कि.मी. सडकको पुनर्निर्माण भइसकेको छ । बाँकी सडकको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

पुर्ननिर्माण हुन बाँकी क्षेत्रमा तीब्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । कोभिड–१९ को महामारीबीच पनि सरकारले पुर्ननिर्माणको काम अगाडि बढाइरहेको छ । महामारीकै बीच कैयौं भौतिक संरचना पुर्ननिर्माण भएका छन् ।