काठमाडौं- नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई स्थायी कमिटीमा थप गरेको छ ।
रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्यमा थपिनुभएको हो ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।







प्रतिक्रिया