अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वरोजगार कोषबाट कसरी पाइन्छ ऋण ?

स्वरोजगार कोषबाट कसरी पाइन्छ ऋण ?


काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबारे तपाईंहरुले धेरै कुरा सुन्नु भएको होला । यस कार्यालयको नामबाटै अनुमान गर्न सकिन्छ कि यसले व्यक्तिलाई आफैं रोजगारी सृजना गर्न सक्ने बनाउँदछ । हो, यस कार्यालयको काम नै रोजगारीको खोजीमा भौतारिएका हजारौं युवा युवतीहरुलाई थोरै लगानी गरेर धेरै आम्दानी गर्न सक्ने बनाउनु हो ।

यसका लागि कोषबाट विभिन्न प्रकारका सहुलियत ऋणहरु पाइन्छन् । यस्तो ऋण लिने विभिन्न प्रक्रियाहरु छन् । स्वरोजगार कोषबाट ऋण लिनका लागि कुनै पनि सहकारी संस्थाको सदस्य हुनुपर्ने सूचना अधिकारी सम्झना वाग्ले बताउनुुहन्छ ।

कोषले व्यक्तिलाई कसरी ऋण लगानी गर्दछ त ?
स्वरोजगार कोषले सहकारीलाई ऋण प्रवाह गर्दछ । सहकारीले स्वरोजगार गर्न चाहने आफ्ना सदस्यलाई ऋण प्रवाह गर्दछन् । किनकी नेपाल सरकार आफैंले आर्थिक कारोबार गर्दैन । ‘त्यसैले हामीले सहकारीलाई माध्यम बनाएर ऋण प्रवाह गर्दछौं,’ वाग्लेले भन्नुभयो ।

सहकारी संस्थालाई कोषले थोकमा ऋण दिन्छ । आवश्यकताका आधारमा सहकारीले आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्दछन् । कोषबाट सहकारीहरुले ऋण पाउनका लागि सार्वजनिक सूचना जारी हुन्छ । त्यही सूचनाका आधारमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका त्यसमा पनि पिछडिएको वर्गहरुका लागि उत्पादनमूलक सहकारीका लागि भनेर लगानी हुने गरेको कोषले जनाएको छ ।

यसका लागि पनि केही मापदण्डहरु छन् । शेयर पूँजी र शेयर सदस्यको चाहिँ क्राइटेरिया छ । सहकारी संस्था घाटामा नभएको हुनुपर्ने, स्थापना भएको पाँच वर्ष भन्दा बढी भएको हुनुपर्ने जस्ता मापदण्ड पूरा भएको सहकारी संस्थालाई सम्झौता गरेर ऋण प्रवाह गर्ने गरिएको वाग्लेले जानकारी दिनुभयो । आवेदन हालेका सहकारी संस्थाको स्थलगत अवलोकन गरेपछि सबै सूचकहरुले सहकारी उपयुक्त भएको ठहरिएपछि हामी लगानी गर्दर्छौं । ‘त्यसका लागि चाहिँ हामीले आह्वान गरेपछि प्रस्ताव पेस गरेकै आधारमा सहकारी संस्थाको फाइल बोकेर हामी स्थलगत अनुमगमनमा जान्छौं,’ वाग्लेले भन्नुभयो ।

शेयर पूँजी र शेयर सदस्यको क्राइटेरिमा मिल्यो भने पनि भाका नाघेको ऋण पाँच प्रतिशत भन्दा कम भएको सहकारी संस्थालाई मात्र ऋण प्रवाह गरिन्छ । ‘विशुद्ध आफ्ना शेयर सदस्य जो बेरोजगार छन् उनीहरुलाई चाहिँ प्रतिव्यक्ति पहिला २ लाख दिने नियम थियो अब ५ लाखसम्मको आधार बनाएका छौं,’ वाग्लेले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘उहाँहरुको व्यावसायिक परियोजना अनुसार अब ५ लाखसम्म प्रतिव्यक्तिलाई लगानी गर्न सक्छौं ।’

कोषले सहकारीलाई बढीमा १ करोड रुपैयाँसम्म दिन सक्छ ।

ऋण लिने प्रक्रिया

✔  कोषले तयार गरेको आशय पत्रको ढाँचा अनुसार प्रस्ताव आव्हान गरिनेछ ।

✔ कोषले वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा मागको लागि प्रस्ताव आव्हान गर्नेछ ।

✔ प्राप्त प्रस्तावहरु ऋण लगानी गर्न कोषले स्वीकृत गर्नेछ ।

✔ कोषले बैंक, वित्तीय संस्थालाई बढीमा ५ करोड रुपैयाँसम्म र सहकारी संस्थालाई कम्तीमा २० लाख रुपैयाँसम्म र बढीमा १ करोडसम्म कर्जा दिन सक्नेछ ।

✔ कोष र वित्तीय संस्था एवं सहकारी संस्थाबीच सम्झौता भएको रकमलाई कोषले वित्तीय संस्था एवं सहकारी संस्थालाई पहिलो किस्ता ५० प्रतिशत, दोस्रो किस्ता ५० प्रतिशत गरी दुई किस्तामा वा आवश्यकताको आधारमा एउटै किस्तामा उपलब्ध गराउन सक्नेछ ।

✔ आशय पत्र अनुसार वित्तीय संस्था एवं सहकारी संस्थाले व्यक्तिलाई बढीमा २ लाख रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ ।

✔ समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा प्रतिव्यक्ति रु २ लाख भन्दा नबढ्ने गरी वित्तीय संस्था एवं सहकारी संस्थाले सामुहिक रुपमा रु ३० लाखसम्म कर्जा लगानी गर्न सक्नेछ । समूहमा ऋण लिए पनि एकै प्रकारको व्यावशाय भए पनि ऋण चुक्ता गर्ने व्यक्तिगत तथा सामूहिक दायित्व हुनेछ ।

✔ कोषबाट संस्थाको खातामा जम्मा भएको मितिले व्यवसायको आधारमा बढीमा बढीमा एक बर्षको ग्रेस अवधि दिइनेछ ।

✔ बैंक वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाका आधारमा कोषलाई बढीमा पाँचवर्ष भित्रमा कर्जा भुक्तानी गरिसक्नुपर्नेछ ।

✔ १८ वर्ष पूरा भइ ६० वर्षसम्मका लक्षित नेपाली नागरिकहरु यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।