लन्डन– लकडाउनविरुद्ध बेलायत र अस्ट्रेलियामा प्रदर्शन हुँदा प्रहरीसहित प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा संलग्न दर्जनौं पक्राउ परेका छन् ।
बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् ।
सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।
बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ ।
अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन
अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।
सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गर्नुभएको छ । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो ।
मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उहाँले बताउनुभयो । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताउनुभएको छ ।
विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।
अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।
अतिसङ्क्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।
विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि ।
प्रतिक्रिया