अमेरिका-नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र शव विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
करिब पाँच घण्टाको विचारविमर्शपछि फैसला सुनाइएको हो । अदालतले नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । उनको सजाय आगामी सन् २०२७ मार्च १२ मा निर्धारण हुने तय भएको छ ।
नरेशले अदालतमा ममता घरमा मृत अवस्थामा भेटिएपछि डरका कारण शव टुक्रा पारेर फालेको स्वीकार गरे पनि हत्या गरेको आरोप अस्वीकार गर्दै आएका थिए । उनले ममताले आत्महत्या गरेको दाबी गरेका थिए ।
सन् २०२४ मा ममता बेपत्ता भएपछि घटना सार्वजनिक भएको थियो । यस प्रकरणमा अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । तर, ममताको शव भने अहिलेसम्म फेला परेको छैन ।



प्रतिक्रिया