अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाको सिनेटमा पहिलो मुस्लिम सदस्य बने अब्दुल अल-सयद

अमेरिकाको सिनेटमा पहिलो मुस्लिम सदस्य बने अब्दुल अल-सयद


काठमाडौं-अब्दुल अल-सयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार अल–सयदले रिपब्लिकन पार्टीका माइक रोजर्सलाई पराजित गर्दै मिसिगनबाट सिनेट चुनाव जितेका हुन्।

डेट्रोइटमा आयोजित विजय मन्तव्यका क्रममा इजिप्टबाट अमेरिका आएका आप्रवासी परिवारका सन्तान अल–सयदले आफ्नो जितलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले भने, ‘मिसिगन, हामीले यो गरेर देखायौँ ! मिसिगनजस्तो महान् राज्यबाट तपाईँहरूको निर्वाचित सिनेटरका रूपमा यहाँ उभिन पाउँदा मलाई धेरै गर्व र सम्मान महसुस भइरहेको छ।’

को हुन् अब्दुल अल-सयद ?

अब्दुल अल–सयदको जन्म र हुर्काइ अमेरिकाको दक्षिणपूर्वी मिसिगनमा भएको हो। उनका बुबा मोहम्मद इजिप्टबाट अमेरिका आएका आप्रवासी हुन् भने उनकी सौतेनी आमा ज्याकी पुस्तौँदेखि मिसिगनमा बसोबास गर्दै आएको परिवारकी हुन्।

उनले प्रारम्भिक शिक्षा सार्वजनिक विद्यालयबाट हासिल गरेका थिए। त्यसपछि युनिभर्सिटी अफ मिसिगनबाट उत्कृष्ट नतिजासहित स्नातक गरे। विद्यालय जीवनमा अध्ययनसँगै खेलकुदमा पनि सक्रिय रहेका उनी फुटबल, कुस्ती र ल्याक्रोस टोलीका कप्तानसमेत बनेका थिए।

उनले नेसनल इन्स्टिच्युट्स अफ हेल्थको फेलोसिप सहयोगमा कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरे। साथै, प्रतिष्ठित रोड्स स्कलरका रूपमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्न सफल भए।

चिकित्सक बन्ने प्रशिक्षण लिएका अल–सयदले पछि सार्वजनिक सेवामा काम गर्ने निर्णय गरे। डेट्रोइट सहर आर्थिक रूपमा टाट पल्टिएको अवस्थामा उनले त्यहाँको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्ने काम गरे। त्यसपछि वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचना गर्ने जिम्मेवारी पनि सम्हाले।

सार्वजनिक स्वास्थ्य क्षेत्रमा उनले विभिन्न महत्त्वपूर्ण परियोजनाको नेतृत्व गरेका छन्। बालबालिकालाई निःशुल्क चश्मा उपलब्ध गराउने, प्राथमिक विद्यालयबाट सिसा हटाउने तथा ओपिओइडको अत्यधिक सेवनबाट हुने मृत्यु कम गर्न प्रयोग गरिने औषधि ‘नार्कन’ सहज रूपमा उपलब्ध गराउने काममा उनको योगदान रहेको छ।

अल–सयदले दुई वर्षभित्र मिसिगनका करिब तीन लाख मानिसको ७० करोड डलरसम्मको चिकित्सा ऋण रद्द गर्ने लक्ष्यसहितको कार्यक्रमको नेतृत्व गरेका थिए। सार्वजनिक स्वास्थ्य र सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई मिसिगन लिग अफ कन्जर्भेसन भोटर्सले ‘वर्षको सार्वजनिक अधिकारी’ पुरस्कार प्रदान गरेको थियो। उनी क्रेनको डेट्रोइट बिजनेसको ‘४० अन्डर ४०’ सूचीमा समेत परेका थिए।

अल–सयदले ‘मेडिकेयर फर अल : अ सिटिजन्स गाइड’ नामक पुस्तकसमेत लेखेका छन्। उक्त पुस्तकमा अमेरिकाका सबै नागरिकलाई कसरी सुलभ र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ।

सन् २०२० मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवासम्बन्धी ‘युनिटी टास्क फोर्स’मा समेत छनोट गरिएको थियो। चिकित्सा, सार्वजनिक स्वास्थ्य र सामाजिक सेवामा लामो अनुभव हासिल गरेका अल–सयदको सिनेट प्रवेशलाई अमेरिकी राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।