अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी, ३० जनाको मृत्यु

इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी, ३० जनाको मृत्यु


कायरो-इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयले बुधबार घटनाबारे जानकारी दिएको हो।

कायरोको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा रिङरोडको सुरुङमाथि उक्त दुर्घटना भएको हो। पेट्रोलियम पदार्थ बोकेको गाडी अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गाडी पल्टिएलगत्तै आगलागी भएको र आगो आसपासका सवारीसाधनमा समेत फैलिएको थियो। आगलागीका क्रममा विस्फोटसमेत भएको बताइएको छ। आगो नियन्त्रणमा लिइसकिएको छ।

इजिप्टको अभियोजन कार्यालयका अनुसार दुर्घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। मृतकको पहिचान खुलाउन शवबाट डीएनए नमुना संकलन गर्न पनि आदेश दिइएको छ।

उद्धार तथा उपचारका लागि घटनास्थलमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्ने आदेश दिएका छन्।

स्वास्थ्य मन्त्रालयले घटनाको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र सम्बन्धित निकायसँग समन्वय गरी घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइरहेको जनाएको छ।

कायरोको रिङरोड राजधानी तथा आसपासका प्रमुख राजमार्ग र कायरो, गिजा तथा कल्युबिया प्रान्तलाई जोड्ने व्यस्त सडक हो। दुर्घटनाका कारण उक्त क्षेत्रमा ठूलो क्षति पुगेको छ।