अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बाढीले ढुंगा बगाएर ल्याउँदा भूकम्प जसरी थर्काउँछ निन्द्रा लाग्दैन’

‘बाढीले ढुंगा बगाएर ल्याउँदा भूकम्प जसरी थर्काउँछ निन्द्रा लाग्दैन’


सिन्धुपाल्चोक– असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।

खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आउनुभएकी सुप्रभा गिरीले भन्नुभयो, “खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।” उहाँले जतिसक्दो चाँडो भे्रमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गर्नुभयो ।

लगातारको बाढीले सोमबारराति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा , तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन् ।

यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउने क्रममा रहेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन् । बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ ।

मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ । हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ । “नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो”, पीडित हरिशरण श्रेष्ठको गुनासो थियो ।

अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन् । अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ । हेलम्बु गाउँपालिकाको चनौटे बजारबाटै अहिले खोला बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिनुभयो ।

तत्काल सुरक्षित स्थानको खोजीमा पीडित लागिपरेका छन् । सडक सञ्जाल र विद्युत्बाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ । एकजना बिरामी भए पनि उपचारका लागि अस्पताल पु¥याउन हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य सङ्कट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पक्की पुल सबै खोलाले लगिसक्यो बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा मात्र छन् । पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको छ । असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षतिभएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी वलीसमेतले स्थलगत निरीक्षण गर्नुभयो । सरकारका तर्फबाट आफूहरूका लागि रु पाँच लाख वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तोे छैन । बाढी आएको ५० दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताउनुभयो । तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको कामको प्रभावकारीता नहुने उहाँको भनाइ थियो ।

विभिन्न सङ्घ संस्थाको पहलमा सुरक्षित मानिएको स्थानमा निमार्णाधीन अस्थायी आवास अनिश्चित देखिएको छ । सडक सञ्जाल र पुल–पुलेसा ध्वस्त भएकाले सामान ओेसार पसार गर्ने वैकल्पिक बाटो छैन । पीडितहरू घर निमार्णमा आवश्यक ट्रस, जस्तापाता, सिमेन्ट, अन्य आवश्यक सामग्री नहुँदा खल्तीमा पैसा बोकेर पनि अहिलेसम्म चुहिने पालमुनि बस्न बाध्य छन् । रासस