भक्तपुर-बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित दिउँसो नवदुर्गा मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको विशेष पूजा गरी देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गरेका हुन्। उनलाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्प पूजा गराएका थिए।
सो अवसरमा नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले राष्ट्रपति पौडेललाई नवदुर्गा भवानीको प्रसादस्वरूप जमरा, टीका, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणासमेत प्रदान गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न व्यक्तिहरूको उपस्थिति थियो।
नवदुर्गा जात्रा सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोग
कार्यक्रमका अवसरमा बागमती प्रदेश सरकारले नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत उपलब्ध गराइएको सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापामगरले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। सहयोगसँगै संस्थालाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।
मुख्यमन्त्री थापामगरले नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको बताए। उनले कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा खुसी लागेको उल्लेख गरे।
नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि आवश्यक सहयोग तथा सहकार्यलाई प्राथमिकता दिने बताए।
नवदुर्गा जात्रा सञ्चालनका क्रममा हरेक वर्ष आर्थिक कठिनाइ हुने गरेको जनाउँदै मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगले जात्रा सञ्चालन तथा संरक्षणमा टेवा पुग्ने अपेक्षा गरेको छ।
नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाका अनुसार विसं २०४५ को भूकम्पपछि दैवीप्रकोपका घटनाका सन्दर्भमा देश र जनताको हित तथा कल्याणको कामना गर्दै तत्कालीन राष्ट्रप्रमुखबाट नवदुर्गा भवानीको पूजाअर्चना गर्ने परम्परालाई निरन्तरता दिइएको हो।



प्रतिक्रिया