काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँका ऐतिहासिक गल्ली, मन्दिर र सम्पदाहरू भौतिक संरचना मात्र नभई यहाँको मौलिक जीवनशैली र पहिचान भएको बताएकी छन्। उनले सहरको वास्तविक विशेषता बुझ्न दौडिनु वा हिँड्नु मात्र पर्याप्त नहुने भन्दै यसको संस्कृति, परम्परा र जनजीवनलाई गहिरोसँग महसुस गर्नुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ का अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
वसन्तपुर क्षेत्रबाट सुरु भएको हेरिटेज रनमा विभिन्न उमेर समूहका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन पुस्ताले सहभागिता जनाएका थिए। डंगोलका अनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटर दूरी पार गरेका थिए।
उनले बिहानीपखको काठमाडौँको मौलिक वातावरण, भजन–कीर्तन, परम्परागत खानपान र मन्दिरहरूको उपस्थितिले सहरलाई जीवन्त बनाउने बताइन्। पैदल यात्रा वा दौडका माध्यमबाट सहरका ऐतिहासिक तथा सांस्कृतिक पक्षसँग नजिक हुन सकिने उनको भनाइ थियो।
‘हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौँको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो। यहाँका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन्। त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौँलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ डंगोलले भनिन्।
कार्यक्रममा सहभागी हुन अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता बन्द गर्नुपरेको महानगरले जनाएको छ। नागरिकको उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रम थप आयोजना गर्न प्रेरणा मिलेको डंगोलले बताइन्।
महानगरले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गते (अक्टोबर ३० देखि नोभेम्बर १) सम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत अघि बढाएको छ। खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको डंगोलले जानकारी दिइन्।
महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत उद्घाटन गरिनेछ। दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ।
आयोजकका अनुसार राष्ट्रिय सभागृहमा विशेषगरी सन् १९७० र १९८० को दशकका पुराना मौलिक नेपाली चलचित्र निःशुल्क प्रदर्शन गरिनेछ। जय नेपाल सिनेमा हलमा अन्तर्राष्ट्रिय चलचित्रसहित कुल ४० चलचित्र प्रदर्शन गर्ने तयारी छ।
महोत्सवमा सहभागी हुन इच्छुक दर्शकले काठमाडौँ महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ।



प्रतिक्रिया