अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा सवारी दुर्घटनामा एक वर्षमा ३४ जनाको मृत्यु

बैतडीमा सवारी दुर्घटनामा एक वर्षमा ३४ जनाको मृत्यु


बैतडी– सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई/दुई सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् ।

चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् ।

सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन

जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारवाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारवाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्र्याक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् ।