अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्वार्ता

‘माधव नेपालको अपराधिक क्रियाकलापको जनताले हिसाबकिताब गर्छन्’

‘माधव नेपालको अपराधिक क्रियाकलापको जनताले हिसाबकिताब गर्छन्’


संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेको एउटा समूहले अन्ततः नयाँ पार्टी गठन गरेको छ । पार्टीमा १४ वर्षसम्म महासचिव भएर नेतृत्व गर्नुभएका माधवकुमार नेपालले विद्यमान कानूनलाई नै संशोधन गराएर नेकपा एमाले (समाजवादी) गठन गर्नुभएको छ । सुरुका दिनमा सोचेजस्तो पार्टीको ठूलो जमात नेपालसँग गएन । तर, २४ वर्षपछि एमालेले अर्को विभाजन व्यहोर्नुपरेको छ । पार्टी विभाजन, आगामी रणनीतिलगायतका विषयमा नेपाली बहसले एमाले महासचिव ईश्वर पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंशः

……………………..

एमाले विभाजनले कार्यकर्ता पंक्तिमा कस्तो असर परेको छ बताइदिनुस्न ?
नेकपा एमालेको जीवनमा यस किसिमको घटना हुने कुरा दुखद् छ । केही समय पहिला देखि नै यसका संकेतहरु पार्टीमा देखा परेका थिए । यस्तो स्थिति नआओस् भनेर अधिकतम कोसिस पनि गरिएको पनि हो । तर वास्तवमा त्यो सम्भव भएन । रिस, आवेश कुण्ठाका कारणले र पार्टी एकताबद्ध हुने कुराको गाम्भीर्यता नबुझ्नाले यस्तो कुरा भएको छ । यो दुखद् कुरा हो तर एउटा कुराचाहिँ देशव्यापी रुपमा नेकपा एमालेका कार्यकर्ताहरु समर्थकहरु एमालेलाई माया गर्ने जनताहरु सबैलाई म के भन्न चाहन्छु भने, यो अनुचित ढंगले अक्षम्य अपराधको कोटीमा पर्ने कामहरुको सिलसिला उत्कर्षमा पुगेर यो परिणाम देखापरेको हो । यसमा दुइटा मात्र विकल्प हुनसक्थ्यो या त त्यो सच्चिनु पर्थ्यो र पार्टीमा काम गर्नुपर्थ्यो । होइन भने विभाजन अवश्यम्भावी नै थियो ।

यो अवस्था कसरी आयो त ?
माधव नेपालले पार्टीको अध्यक्षलाई, बरिष्ठ नेताहरुलाई कारबाही गर्ने, सदस्यताबाट समेत निश्कासन गर्ने काम गर्ने, त्यसको अगुवाइ गर्ने काम गर्नुभयो । त्यस्तो अवस्थामा एउटै पार्टी भनेर बस्न उहाँहरुलाई नै गाह्रो थियो । आफ्नो पार्टीको नेतृत्वमा भएको सरकारलाई हटाउने प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने, त्यसका लागि अदालतमा मुद्धा हाल्ने । यति असंवैधानिक र अपराधिक कर्महरु हुँदै आएका थिए । त्यसको स्वभाविक परिणाम प्रकट भएको छ । त्यस्ता घटना हुँदा हुँदै पनि केही दिन पहिले अध्यक्ष केपी शर्मा ओलीले अपिल गर्नुभएको थियो । दशबुँदे सहमति कार्यान्वयन गरौं । सबै मिलेर योजना बनाएर अघि बढौं भन्ने प्रस्ताव गर्नुभयो । तर त्यस कुरालाई वास्ता गरिएन । माधव नेपालले हाराहारीको अर्को अध्यक्ष चाहिन्छ । समान हस्ताक्षर गर्ने अध्यक्ष चाहिन्छ भनेर विधानमा हुँदै नभएको कुरा गर्नुभयो । त्यसको पनि एउटा विधि प्रक्रिया हुन्थ्यो । ती सबै चिजलाई उल्लंघन गरेर विधि प्रक्रियाको नाममा कुण्ठा, इर्ष्या र बदलाको भावना र देशव्यापी रुपमा पार्टी कार्यकर्ताको चाहनामा माधव नेपालले कुठाराघात गर्नुभयो । यो दुखद् छ ।

अबको एमाले कसरी अगाडि बढ्छ त ?
यसबीचमा भएका जति घटनाहरु छन् । ती सबै घटना प्रसंगहरु लिएर जनताको बीचमा आफ्नो स्पष्ट दृष्टिकोण सहित जान्र्छौं । जनताको बीचमा जानुपर्दछ । जनतालाई भन्नुपर्दछ । वास्तविकता के हो ? एमाले भित्रै घटेको यो घटना र थुप्रै प्रश्नहरु मानिसहरुको मनमा हुन सक्छन् । ती कुरालाई स्पष्ट पारेर जनतालाई भ्रमबाट मुक्त गरेर एमाले अघि बढ्दछ । दोस्रो कुरा नेकपा एमालेको जीवनमा पनि यस्ता कुरा विगतमा पनि भएका हुन् । सोच्दै नसोचेका विभाजनकारी काम भएका छन् । ति सबै कुरालाई सम्हाल्दै,गलत कुरालाई पराजित गर्दै एमाले अघि बढेको हो । नेकपा एमालेको इतिहासमा उग्र, विभाजनकारी र दुखद् अवस्थाहरु छन् । त्यसलाई सामना गरेर अघि बढेको छ । नेकपा माले हुँदै देखि यस्ता कुरा भएका छन् । त्यसकारण अहिलेको यो घटनाका बारेमा हामी कार्यकर्ता,जनतालाई विगत,वर्तमान र भविष्य बताउछौं । अब पार्टी नयाँ ढंगले अगाडी बढ्दछ । जनतालाई यसमा आश्वास्त हुन र यस्ता विभाजनकारी तत्वहरुबाट बिचलित नहुन आग्रह गर्दछु ।

माधव नेपालका माग सम्बोधन गरेर विभाजन रोक्न सक्ने अवस्था थिएन ?
माधव नेपालहरुले अहिले कम्यूनिष्ट पार्टी भित्र एउटा अत्यन्तै घिनलाग्दो,अपराधिक किसिमको गतिविधि गर्नुभएको छ । यो गतिविधिको अगुवाइ गर्नेहरु अलग भएका छन् । माधव नेपालले कुनै बेला १४ वर्षसम्म पार्टीको नेतृत्व गर्नुभयो । त्यही पनि नेतृत्वमा आउने तिर्सना मेटिएन उहाँको । पार्टीमा सेकेण्ड म्यान हुँदा पनि उहाँ कै बोलवाला थियो । अब अहिले कस्तो शर्त राख्नु भयो भने- दुइटा अध्यक्ष बनाएर मलाई केपी ओली जतिकै अधिकार चाहिन्छ  । यो कुनै पार्टी नीति, सिद्धान्त र विधिको कुरा थिएन । यो लज्जास्पद कुरा थियो । यो प्रस्ताव हास्यास्पद र अशोभनीय थियो । जुन कुरा महाधिवेशनमा नगइ सम्बोधन हुने खालको थिएन । त्यति मात्र होइन बाहिरबाट अरु मान्छेहरु,शंकास्पद मान्छेहरु लगाएर पनि समान हैसियतको अध्यक्षको माग राख्न लगाउनुभयो । मानिस एउटा इर्ष्या, द्वेष आकांक्षा अझ भनौं जंगली आकांक्षाले कुन तहमा पुग्दो रहेछ भन्ने कुराको दृष्टान्त पनि हो यो । त्यसकारणले म देशभरीका नेता कार्यकर्ता र समर्थक साथीहरुलाई भन्न चाहन्छु हाम्रो जीवनमा ,पार्टीको राजनीतिक, सामाजिक जीवनमा घटेको यो घटना अत्यन्त दुखद् छ । राष्ट्रिय राजनीतिलाई समेत पनि यसले नकारात्मक दिशातर्फ लैजानको लागि भूमिका खेल्दछ ।

विधि प्रक्रियाको नाममा कुण्ठा, इर्ष्या र बदलाको भावना र देशव्यापी रुपमा पार्टी कार्यकर्ताको चाहनामा माधव नेपालले कुठाराघात गर्नुभयो । यो दुखद् छ ।

हिजो एमाले सरकारमा हुँदा पनि अध्यादेश त ल्याउनु भएको थियो । तपाईंहरुले ल्याएको र अहिलेको अध्यादेशमा के फरक छ ?
हिजो केपी ओलीले संविधान जारी हुनुभन्दा पहिलाको दल त्याग सम्बन्धी जे व्यवस्था थियो ,सम्बन्धित दलको केन्द्रीय कार्य समिति र संसदीय दलको ४० प्रतिशत भन्ने थियो । पछि २०७२ सालको संविधान जारी भएपछि ‘र’ को ठाउँमा ‘वा’ बनाउँ किनभने ४० प्रतिशत भएपछि च्वाइस गर्ने ठाउँ दिउँ भन्ने भयो । किनभने केन्द्रीय समितिमा हुँदा तमासा हुन थाल्यो पार्टीभित्र । ४ हजारको केन्द्रीय समिति पनि बनाइयो । पार्टी एकिकरण भयो भन्यो अनि २सय जना थपिदियो । कतिजनाको चाँही केन्द्रीय समिती बैधानिक हो भन्ने गम्भिर प्रश्न थियो । त्यसकारण राजनीति दल त्याग सम्बन्धी बिषयचाँही बडो अलमलको बिषय थियो । त्यसकारणले जनताबाट निर्वाचित प्रतिनिधिको नाताले ४० प्रतिशत त्यसमा पार्टीको कार्यसमितीको कुरा वा मात्र गरौं । त्यो एउटा राजनीतिक प्रक्रियालाई सहजता प्रदान गर्नका लागि ल्याइएको अध्यादेश थियो । त्यो बेला त्यसको खुब विरोध गरियो । अहिले अस्वभाविक ढंगले संसद अन्त्य गर्ने र १२ घण्टापनि बित्न नपाइ अध्यादेश ल्याउने । त्यो पनि यस्तो खालको कि ४० प्रतिशतको ठाउँमा २० प्रतिशत भए पुग्ने । यो सब नेकपा एमालेलाई विभाजन गर्नका लागि, माधव नेपाललाई कति संख्या चाहिन्छ । त्यो संख्याका आधारमा यो अध्यादेश ल्याइएको हो । यो त एमालेका विरुद्धको गम्भीर षडयन्त्र थियो । यो एमाले विभाजनका लागि योजनाबद्ध तयारी थियो । यो षडयन्त्रपूर्ण कुराको नेकपा एमाले निन्दा र भत्सर्ना गर्दछ । यो अध्यादेश फिर्ता लिनु पर्दछ भनेर जोडदार आग्रह गर्दछ । होइन भने नेपालका राजनीतिक दलहरुको जीवनमा अत्यन्त विभाजनकारी शिलशिला सुरु भयो भनेर बुझे हुन्छ । यो एमाले मात्र होइन अरु दलमा पनि रोग सल्किन्छ ।

जनताको ताजा जनादेशमा जान्छु भन्ने केपी ओलीको निर्णयचाहिँ प्रतिगमनकारी रे ,तर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई ढालेर विपक्षीको नतृत्वमा सरकार बनाउन लाग्ने कुरा यो त घनाघोर प्रतिगमन हो । यो प्रतिगमनको अगुवाई माधव नेपाल र पुष्पकमल दाहालले गरेका हुन् । यो दुर्भाग्यपूर्ण र अपराधिक कुराको हिसाब किताव नेपाली जनताले गर्नुपर्दछ ।