अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेटिङमा देउवा प्रधानमन्त्री बनेको खगराज अधिकारीको दाबी

सेटिङमा देउवा प्रधानमन्त्री बनेको खगराज अधिकारीको दाबी


बुटवल – पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सवै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताउनुभयो। ‘सर्वोच्चको अहिलेको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छु, उहाँले भन्नुभयो, ‘सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ।’

राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उहाँले तक्मा लिनु भनेको घुस लिए सरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताउनुभयो ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाउनुभयो। ‘अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ। राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,’ उहाँले बताउनुभयो ।

फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाउनुभयो । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताउनुभयो ।

मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उहाँको भनाई छ । तर, वामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष रामबहादुर चन्दले संघभित्र फुटपरस्त गतिविधिमा लाग्नेलाई निलम्बन गरिएको भन्दै अब संगठनलाई अझ सुदृढ, व्यवस्थित र पारदर्शी बनाएर लगिने बताउनुभयो । संघका महासचिव डा. झलक शर्मा गौतमले स्वास्थ्यकर्मी संघ देशभरिका स्वास्थ्यकर्मीहरूको आशा र भरोसाको केन्द्र बनेको भन्दै मुलुकभरका स्वास्थ्यकर्मीको हक हितको रक्षा गर्दै संघ अगाडि बढ्ने बताउनुभयो ।