अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनका लागि ताप्लेजुङबाट १३ प्रतिनिधि निर्वाचित

एमाले महाधिवेशनका लागि ताप्लेजुङबाट १३ प्रतिनिधि निर्वाचित


ताप्लेजुङ – नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ जनाको टुंगो लागेको छ । कात्तिक ३० गते सम्पन्न मतदानको मतगणना केहीबेर अघिमात्र सकिएको हो। जसअनुसार खुल्ला ८ पदमा सबैभन्दा बढी मत संविधानसभा सदस्य भूपेन्द्र थेबेले ल्याउनुभएको छ । उहाँले ४ हजार २६२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुल्लातर्फको दोस्रो मत दीपेन पोमूले ल्याउनुभएको छ। जिल्ला युवा समिति अध्यक्षसमेत रहेका उहाँले ४ हजार ८७ मत ल्याउँदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले ४ हजार ५३ मत सहित तेस्रो बढी मत ल्याएका छन् ।

यस्तै युवा संघका नेता आशिष् केदेमले ३ हजार ७२५ मत, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पाले ३ हजार ५७९ मत, प्रदेश सांसद बलबहादुर साम्सोहाङले ३ हजार ५५० मत, संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले ३ हजार ५२१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले ३ हजार ४१९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अन्य प्रतिस्पर्धीमध्ये जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ३ हजार २८६ मत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मणिशंकर पोमूले ३ हजार ६८ मत पाउनुभएको थियो । प्रदेश कमिटी सदस्य सन्तोष खतिवडाले २ हजार ६४३ मत, मंगलसिंह केदमेले २ हजार ४८५ मत, सिंहबहादुर इवारमले २ हजार ४५४ मत, चन्द्रप्रकाश मेन्याङ्वोले २ हजार २३८ मत, राजेश प्याकुरेलले १ हजार ९५२ मत र थर्ककुमार चोङ्वाङ (दिवस)ले १ हजार ८२६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।

खतिवडा, इवारम, मेन्याङ्वो, केदेम र मादेन पुराना कम्युनिस्ट नेतामा मानिन्छन् । प्याकुरेल एमाले फुङ्लिङ नगर कमिटी सचिव हुन् भने चोङ्वाङ मैवाखोला गाउँपालिका वडा-३ का वडाध्यक्ष हुनुहुन्छ। उता महिलातर्फ सर्वाधिक लोकप्रिय मत फुङ्लिङ् नगरपालिका वडा नं ५ का वडाध्यक्ष समेत रहनुभएकी भीमादेवी ओझाले पाउनुभएको थियो ।

६ हजार १०० हाराहारी मत झरेकोमा उहाँले ५ हजार ९४६ मत ल्याउनुभएको छ । मिनाकुमारी केदमेले ५ हजार ६८०, टीकादेवी दाहालले ४ हजार ७८३, उर्मिला थेबेले ४ हजार ५९९ मत ल्याउनुभएर महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । चार जनाको कोटा रहेकोमा ५ प्रतिस्पर्धी थिए । त्यसमा निर्मला इजमले ४ हजार २६ मत ल्याउनुभयो । थेबे सिरिजंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष समेत हुन् ।

१ दलित कोटाका लागि रहेका २ प्रतिस्पर्धीमध्ये ३ हजार ७२३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित हुनुभयो । छत्रबहादुर विकले २ हजार २१२ मत ल्याउनुभयो । नेपालीले आफ्ना प्रतिस्पर्धीलाई १ हजार ५०० बढी मतान्तरले पराजित गर्नुभयो ।