अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने तयारी   

 बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने तयारी   


काठमाडौं – नेपाल बार एसोसिएसनले ८ मंसीर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ ।

कार्यापालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वोच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन काननू व्यवसायीहरुको भनाइ:

के संविधानले निरंकुश हुने अधिकार दिएको छ ?

चण्डेश्वर श्रेष्ठ

अध्यक्ष, नेपाल बार एसोसिएसन

जबराको पालामा तीन वर्ष लगातार अन्याय भएको छ । फेरि एक वर्ष अन्याय हुन दिँदैनौं । गरीबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईंले विचौलिया भ्रष्टाचार चाहेको हो ?

गरीबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं ।

८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वोच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ ।

हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो

वरिष्ठ अधिवक्ता, कमल कोइराला

प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो। आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ ।

बहिर्गमनको लागि आग्रह गरेका हौँ

वरिष्ठ अधिवक्ता, हरिशंकर निरौला

आफ्नो इज्जत कसरी राख्ने भनेर इतिहासले मान्छलाई अवसर दिन्छ । अहिले प्रधानन्यायाधीश जबरालाई पनि त्यो मौका छ । सम्मानजनक बहिर्गमनको लागि आग्रह गरेका हौँ । हाम्रो यो आग्रहलाई कमजोर ठानेर जबरजस्ती बस्ने हो भने उहाँको विरूद्वमा हामीले नसोचेको कुरा आउँछ । आम जनता उर्लिन्छन् । त्यसकारण सम्मानजनक बहिर्गमन गर्नुपर्छ । उहाँको आयु लम्ब्याएर न्यायपालिकाको कल्याण हुँदैन ।

न्यायपालिकाका लागि लडिरहेका छौं

अधिवक्ता, शिव रिजाल

हामी शान्तिकर्मी हो । हिंसा चाहँदैनौँ । भ्रष्टाचाररहित न्यायपालिकाका लागि लडिरहेका छौं । निर्भिक स्वतन्त्र र भ्रष्टाचाररहित अभियानमा लाग्न आह्वान गर्छौँ । आज बौद्धिक लडाइँ लडिरहेका छौं । २०६२/०६३ जस्तो कानुन व्यवसायीको लडाइँ गर्ने अवस्था आउँछ । डिफेन्सिभ होइन अफेन्सिभ लडाइँ सुरू गर्नुपर्छ । युवाहरू उतारौं ।

आत्मालोचना गरेर सहज बहिर्गमन गर्नुहुन्छ कि सबै हतकण्डा अपनाएर निकाल्ने अवस्था आउँछ । दलहरू पनि पनि होस गर्नुस् । बन्दी जीवन बिताउने अवस्था नआओस् । होस् गर्नुस् ।

दमनबाट पछाडि हट्ने छैनौं

अधिवक्ता, गणेश ओली

न्यायको माग गर्दै हिँड्ने कानुन व्यवसायीमाथिको दमन हो । बुट र लाठी बर्साइयो । हामी तपाईं (जबरा)को दमनबाट पछाडि हट्ने छैनौं ।

जबरा निर्लज्ज भएर बस्नुहुँदैन

अधिवक्ता, डिबी राई

राजनीति जस्तो न्यालय होइन । कालोमोसो दलेर फेरि माला लगाइन्छ राजनीतिमा । तर, न्यायलयको आफ्नै गरिमा छ । तपाईं (जबरा) निर्लज्ज भएर बस्नुहुँदैन । तपाईंको बहिर्गमन सोचेकोभन्दा भयावह र खतरनाक हुन्छ । बारको आन्दोलन बिलाएर जान्छ भन्ने नसोच्नुस् । सुद्धीकरणको अभियान रोकिँदैन ।