अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेशबाट बनेको सरकारलाई विस्थापित गर्न एमालेमा पुनः ओलीको नेतृत्व आवश्यक छ : बादल

परमादेशबाट बनेको सरकारलाई विस्थापित गर्न एमालेमा पुनः ओलीको नेतृत्व आवश्यक छ : बादल


काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताउनुभयो ।

एमालेको महाधिवेशनका सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले समाजलाई सफल पार्न अराजकतावादलाई अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो । पुँजिवादी व्यक्तिवादले नै अराजकतावाद उत्पन्न हुने भन्दै उहाँले विश्वको कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्दा अराजकतावादलाई परास्त गरेर मात्र समाजवाद सफल भएको दाबी गर्नुभयो ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताउनुभयो ।

उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गर्नुभयो ।

नेता थापाले भन्नुभयो, ‘एमाले दशौं राष्ट्रिय महाधिवेशनले हामीले सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने, त्यसलाई निर्माण गर्ने, विधान महाधिवेशनले जुन सही विचार, नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने र सही सक्षम नेतृत्व निर्माण गरेर यसलाई कार्यान्वयन गरेर आगामी निर्वाचनको मध्यामबाट फेरी नेकपा एमालेलाई सत्तामा पुन स्थापित गर्ने र हामीले भनिराखेका छौं ।’

यो दक्षिणपन्थी जो सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ । हामीले मंसीर १० गते चितवनमा के सन्देश दिन चाहन्छौँ भने हामी पुनः जनादेशबाट सत्तामा नेकपा एमाले पुनस्थापित गर्ने थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । नेपाली जनताले सुःख पाउने छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता केन्द्रिकरण गरेर हामी यो सन्देश दिन चाहन्छौं । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं । १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौं ।’

उहाँले हाल नेपालमा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा रहेको पुष्टि समेत गर्नुभयो । एमालेको १० औं महाधिवेशनले सही र सक्षम नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा दक्षिणवादी पुँजिवाद हाबी हुँदै गएको समेत उहाँले आरोप लगाउनुभयो ।