अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी बैंकका अध्यक्ष उप्रेतीद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

सहकारी बैंकका अध्यक्ष उप्रेतीद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


काठमाडौं– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहनुभएका पुराना नेता केबी उप्रेतीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

६३ लाख भन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले नेपाली बहस डट कममार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एमालेको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागका सचिव समेत रहनुभएका उप्रेतीले सहकारी क्षेत्रका समस्याको समाधानका लागि नीतिगत तहमै रहनुपर्ने भन्दै केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने बताउनुभएको हो । उप्रेती खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ ।

दुई सय जनाभन्दा बढी सहकारीकर्मी नै महाधिवेशन प्रतिनिधि भएकाले आफूले खुलातर्फ केन्द्रीय सदस्य बन्न चाहेको उप्रेतीले बताउनुभयो ।

उप्रेतीको परिचय

दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मिनुभएका के.बी. उप्रेती (कृष्णबहादुर उप्रेती) २०३५/०३६ बाट विद्यार्थी आन्दोलनमा होमिएर राजनीतिमा लाग्नुभएको हो । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बन्नुभएका उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।

अनेरास्ववियुका तत्कालीन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियु काउन्सिललाई स्ववियु काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियु काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले काम गर्नुभएको थियो ।

२०४७ मा एमालेको संगठित सदस्य बनेका उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटि सचिव हुँदै काठमाडौं विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले तत्कालीन काठमाडौं क्षेत्र नम्बर ५ लाई कार्यक्षेत्र बताउनुभएको थियो ।

केन्द्रीय सम्पर्क विभागको सदस्य हुँदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागमा रहनुभएका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव हुनुभएको छ । उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।