अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटीका लागि को–को छन् दौडमा ?

एमाले स्थायी कमिटीका लागि को–को छन् दौडमा ?


काठमाडौं– नेकपा एमालेको आगामी २५ गते देखि सुरु हुने बैठकले स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने भएपछि नेताहरुले ती कमिटीहरुमा पर्न तिव्र लविङ गरेका छन् ।

एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोमा गरी १ सय ४४ जना नेताहरु व्यस्थापन हुँदैछन् । विधान महाधिवेशनले निस्तेज पारेको पोलिटब्यूरो महाधिवेशनले व्यूँताएपछि नेताहरुले यो कमिटीमा आफू पर्न उस्तै तिव्र अभियान थालेका छन् ।

एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी समितीमा १९ जना पदाधिकारी स्वतः पर्नेछन् । बाँकी रहेका २६ वटा पदमा करिब ५० जना आकांक्षी छन् । उमेरको हदले अवकास पाएका बाहेक अघिल्लो स्थायी कमिटीमा भएका नेताहरुलाई स्वत दोहो¥याउने मनस्थितिमा अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । यसबाहेक पदाधिकारी बाहेक माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले कम्तीमा पाँच जना सदस्यहरु आफूहरुले पाउनु पर्ने दाबी गरेका छन् । जसमा प्रभु साह, टंक आङबोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह, धर्म रेग्मी, दिनेश पन्थी, चन्द्रबहादुर खड्का लगायतले लबिइङ गरेका छन् ।

कम्तीमा दुई कार्यकाल केन्द्रीय सदस्य भएको नेताहरु मध्येबाट स्थायी समितीमा लैजाने मनस्थिति अध्यक्ष ओलीले बनाएको निकट स्रोतहरु बताउँछन् । अघिल्लो पटक स्थायी कमिटीमा भएर यसपाली पदाधिकारीमा नपरेकाहरुमा घनश्याम भूसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त, मणिचन्द्र थापा गरी छ जना नेताहरु स्थायी कमिटीमा स्वतः पर्ने देखिन्छ । भीम रावलले केन्द्रीय सदस्यमा नै सपथ नखाएको अहिले उहाँलाई गन्तीमा राखिएका छैन । एउटा पक्षले रावललाई मनाएर स्थायी कमिटीमा राख्ने र लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन् ।

खासगरी दोस्रो पुस्ताका नेताहरुले एक तिहाइ सदस्य नयाँ अनुहार लैजानु पर्ने माग गरेका छन् । स्थायी समितिमा जानका लागि भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, कर्ण थापा, यामलाल कँडेल, राधा ज्ञवाली, शेरबहादुर तामाङ, शेरधन राई विन्दा पाण्डे, शिवमाया तुम्बनहाङफे, हिक्मत कार्की, श्रीमाया थकाली, थममाया थापा राजन भट्टराई, उषाकला राई, बैजनाथ चौधरी रहनु भएको छ ।

यसैगरी काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, देवेन्द्र दाहाल, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, पर्शु मेघी गुरुङ, महेश बस्नेतलगायत हुनुुहुन्छ । यसैगरी सीता पौडेल, सुजिता शाक्य लगायतको आकांक्षा पनि देखिएको छ ।

केन्द्रीय सदस्य भानुभक्त ढकालका अनुसार विधानले केन्द्रीय सदस्य भइसकेको व्यक्ति स्थायी समितिमा जान नरोकेकोले उपल्लो कमिटीमा उक्लने प्रयासलाई अन्यथा लिनु नपर्ने बताउनुहुन्छ । ‘स्थायी कमिटी र पोलिटब्यूरोमा जाने चाहना सबैको हुन्छ नै । त्यस अनुसार लबिइङ पनि भइरहेको छ,’ ढकालले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘अध्यक्ष र महासचिवले यस बिषयमा गृहकार्य गर्दैहुनुहुन्छ ।’

स्थायी कमिटीमा पर्नका लागि नेताहरुले अध्यक्ष ओली, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा र महासचिव शंकर पोखरेलसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

एमालेका एक केन्द्रीय भन्छन्, ‘नेतृत्वले फाइल बढुवा गरेर नेतालाई स्थायी कमिटीमा लान्छ कि राजनीतिक रुपमा अघि बढाउछ हेर्नुपर्नेछ ।’ ती नेताका अनुसार उपाध्यक्ष तहका केही नेताहरु फाइल बढुवाको पक्षमा छन् तर दोस्रो पुस्ताका नेताहरु राजनीतिक सम्भावना भएका नेताहरुलाई अघि बढाउनु पर्ने पक्षमा छन् ।

स्थायी कमिटीको आकांक्षा राखेका तर अटाउन नसकेका नेताहरुलाई क्षमता र लोकप्रियताका आधारमा पोलिटव्यूरोमा समेट्ने अध्यक्ष ओलीको तयारी छ ।

Skip This