अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध

फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध


चितवन- फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका असफल भएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पनि दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरवासी आजित भएका छन् ।

महानगरले भरतपुर–३ नगरवन र भरतपुर–२४ धुव्र ल्याण्डफिलमा फोहोर डम्पिङ गर्दै आएकामा स्थानीयले पटकपटक अवरोध सिर्जना गरेका छन् । बस्तीछेउमा गरिएको डम्पिङले दुर्गन्ध फैलाएको र पानीको स्रोतसमेत बिग्रिएको भन्दै स्थानीयले अवरोध गर्ने गरेका छन् ।

दुई ठाउँमा पटकपटक अवरोध हुनेगरेपछि महानगरको बोर्ड बैठकले केही समयसम्म भरतपुर-१ रामनगरमा फोहोर डम्पिङ गर्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध स्थानीय आक्रमक बनेपछि प्रस्ताव पास हुन सकेन ।

अहिले भरतपुर महानगरमा चार दिनदेखि फोहोर उठ्न सकेको छैन । स्मार्ट सिटी भनिने गरिएको भरतपुरमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको छ । यहाँ स्मार्ट सडकदेखि स्मार्ट शौचालयसम्म निर्माण हुँदै छन् । स्मार्ट योजनाहरू समयमै नसकिएर अलपत्र परेका छन् ।

भरतपुर क्षेत्रमा पटकपटक फोहोर थुप्रिने गर्छ । स्मार्ट सिटी भरतपुरमा मास्कले समेत नछेक्ने दुर्गन्धबाट स्थानीय पीडित हुनुपरेको छ ।

चितवनको सदरमुकाम हो भरतपुर । भरतपुरको पनि केन्द्रमा पर्छ चौविसकोठी । पश्चिम चितवनबाट आउने महानगरवासीलाई चौविसकोठी प्रवेश गर्ने बाटोमा फोहोरको थुप्रोले स्वागत गरेको जस्तो अनुभूति हुन्छ । त्रिचोकदेखि चौविसकोठीसम्मको बाटोको छेउमा स्वागत गर्न राखेझैँ फोहोरका थुप्रो देख्न सकिन्छ ।

भरतपुर महानगरपालिका-७ कटहर चोकका रेशम गुरुङले महानगरले जनताको स्वागतमा घडाको साटो फोहोरको थुप्रो राखेको बताउनुभयो । ‘ठूलाबडा मान्छेको स्वागतमा बाटोका छेउमा घडा राख्ने, कलश राख्ने गरेको त देखिएको हो । महानगरले त जनताको स्वागतमा फोहोरेको थुप्रो पो राखेको छ’, उहाँले भन्नुभयो ।

भरतपुर विमानस्थलको आडैमा फोहोर थुप्रिएका मात्रै छैनन्, खुला शौचालयसमेत बनेको छ । त्यस्तै, नारायणगढ बजारमा थुप्रिएको फोहोरको डंगुरले बजार कुरुप बनेको छ । फोहोरको थुप्रोबाट आउने दुर्गन्धले वान्ता नै हुने गरेको स्थानीय रमेश पराजुली बताउनुहुन्छ ।

‘पसलमा तरकारी लिन जान सक्ने अवस्था नै छैन । फोहोर देखेर एकचोटी त मलाई वान्ता नै भएको छ’, उहाँ भन्नुहुन्छ, ‘विकास गरेँ, बाटो बनाएँ भन्छन् । फोहोरको अवस्था भने जहिल्यै यस्तै देख्छु । विकासमा फोहोर उठाउने काम पर्दैन र भन्या ?’

समयमा फोहोर उठ्न नसक्दा स्थानीयलाई मात्र नभएर व्यवसायी, सेवाग्राही र यात्रीहरुलाई समेत समस्या भएको उहाँ बताउनुहुन्छ ।

माग सम्बोधन गरेर फोहोर उठाउने तयारी

भरतपुर–२४ धुव्रका स्थानीयको माग सम्बोधन गरेर आजदेखि फोहोर उठाउने योजना रहेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताउनुभयो । भरतपुर–२४ मा धुव्र ल्याण्डफिल साइट छ । त्यहाँ फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएका छन् ।

‘बर्खामा धुव्र ल्याण्डफिलमा र हिउँदमा नगरवनमा फोहोर फालिने गरिएको थियो । अहिले नगरवनका स्थानीयले फोहोर फाल्न दिएका छैनन् । धुव्रमा पनि दिएनन्’, उहाँले भन्नुभयो, ‘त्यो हुनाले आज कार्यपालिका बैठक बस्ने र स्थानीयसँग वार्ता गर्ने योजना छ । उहाँहरुसँग बसेर कुरा गरेपछि दिनुहुन्छ होला भन्ने छ ।’

स्थानीयको मागलाई बुधबार सम्बोधन गरेर आजबाट फोहोर उठाइने उहाँको दाबी छ । बाटो निर्माण, ग्राभेलको भुक्तानी, दुर्गन्ध व्यवस्थापन र तारजाली लगाइदिनुपर्ने लगायतका विषय राखेर स्थानीयले अवरोध गरेको उनले बताए । धुव्र ल्याण्डफिल र नगरवन बाहेक महानगरले फोहोर फाल्ने स्थानको विकल्प भेट्न सकेको छैन ।

महानगरले विकासका आयोजनाहरू पारिदिने आश्वासन दिएर स्थानीयलाई केहीदिनसम्म थमथमाउने गर्छ । स्थानीयहरुले फेरि नयाँनयाँ माग राखेर अवरोध सिर्जना गर्छन् ।

भरतपुर-३ नगरवनमा स्थानीयले फोहोर फाल्न नदिएपछि महानगरले फोहोर भरतपुर–२४ मा लगेको हो । यस पटक फेरि स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

‘स्यानिटरी ल्याण्डफिलको एमओयू डिसेम्बरभित्रै’

दीर्घकालिन रूपमा फोहोर व्यवस्थापनका लागि सुडोनोन ल्याण्डफिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर-२ आँपटारीमा स्यानिटरी ल्याण्डफिल साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । तर, यो योजना योजनामा मात्र सीमित बनेको छ ।

कोरियन संस्थासँग भदौ २०७५ मा सम्झौता भएको थियो । ल्याण्डफिल साइट निर्माणका लागि डिसेम्बर भित्र कोरियन संस्थासँग एमओयू हुन लागेको उनले बताए । उक्त योजना अनुसारको फिल्डमा काम सुरु हुन पनि कम्तिमा डेढ वर्ष लाग्ने देखिन्छ ।

कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उनले बताए । महानगरबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्कने गर्छ ।