अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साविक रास्वपा भर्सेस नव रास्वपा: सुस्केरा र संग्रौलाको स्टाटसले निराशा

साविक रास्वपा भर्सेस नव रास्वपा: सुस्केरा र संग्रौलाको स्टाटसले निराशा


काठमाडौं-दशैं, तिहार र छठ पर्व सकिएसँगै अब देशको ध्यान स्थानी तहको निर्वाचनतिर केन्द्रित हुन थालेको छ। पर्व मनाउन गाउँ फर्किएकाहरूले जनताको नाडी छामेर काठमाडौं फर्किएका छन्। उनीहरूमध्ये कोही आफैं उम्मेदवार हुने दाउमा छन्। कोही आफ्नालाई बनाउने दाउमा छन्। निर्वाचन घोषणा भएसँगै दलहरूले कसै न कसैलाई उम्मेदवार बनाउँछ नै। टिकट विना आफूलाई अपुरो सम्झिनेहरूले दलबाट टिकट नपाएकाहरू स्वतन्त्र रूपमा उम्मेदवार हुन सक्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला देशको सर्वाधिक ठुलो पार्टी। दुई तिहाइ मतदाताले मत दिएर सत्तामा पुर्‍याएको पार्टी। यस पार्टीका अनेक उपमा छन्। कसैले यसलाई नयाँ पार्टी भन्छन्। कसैले घण्टी पार्टी। कसैले रविको पार्टी भन्छन्। कसैले बालेनको। कसैले सत्ताधारी पार्टी भन्छन्। कसैले युवाको पार्टी। जसो भए पनि यति बेला बहुसंख्यक नागरिकले रुचाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो। ठुलो जनमत,अपार नागरिकको आकर्षण भएका कारण स्थानीय तहको निर्वाचन पनि सबैभन्दा बढी यसै पार्टीका नेता र कार्यकर्तालाई लागेको छ। फागुनको भेल देखेर रास्वपातिर ढल्केका काँग्रेस एमालेका कार्यकर्तालाई झनै बढी स्थानीय चुनाव लागेको छ। उनीहरू साबिक रास्वपालाई दुईवटा अर्ति उपदेश बाँडेर टिकट हत्याउने धान्नमा छन्। पहिलो उहिले एमालेमा टिक यसरी बाँडिन्थ्यो,चुनाव यसरी जितिन्थ्यो। चुनाव जित्न यस्ता हतकण्डा प्रयोग गरिन्थ्यो। जनताले यस्तो चाहन्छन्। कार्यकर्ताले उस्तो रुचाउँछन् भनेर उनीहरू रणनीतिको व्यापार गरेर साबिक रास्वपालाई भुलाइरहेका छन्।

त्यति मात्र होइन उनीहरूले चुनाव जितेपछि कसरी र के काम गर्ने भनेर एजेन्डाको व्यापार पनि गरिरहेका छन्। फलाना ठाउँमा एमालेले पुल बनाउँछु भनेको थियो बनाएन। ढिस्काना ठाउँमा काँग्रेस सामुदायिक भवन बनाउँछु भनेको सुरु नै गरेन। त्यो पैनीमा पानी कुदाउँछु भनेको माओवादीले त्यसपछि पैनी भन्ने शब्दै उच्चारण गरेन। त्यसका साक्षी हामी छौं। त्यसैले तिनै एजेन्डालाई हामीले उछाल्नु पर्दछ। नव रास्वपाका यस्ता भूतकालीन र भविष्य कालिन उपदेश सुनेर साबिक रास्वपा अलमलमा छन्। नव रास्वपाले साबिक रास्वपालाई लामो अर्ति उपदेशपछि एउटा निष्कर्ष पनि सुनाउछन् चुनाव जित्न,जितेपछि तपसिलका काम गर्न म नै उम्मेदवार हुनुपर्छ। अरूले सक्दैनन्। यी सब सुनेर साबिक रास्वपा झनै ट्वाँ परिरहेका छन्।

रास्वपाले क्यानिडेट क्लबको फायर डालो थापेपछि त्यहाँ आफूलाई दर्ता गर्न साबिक भन्दा नव रास्वपा तम्सिएका छन्। नाम दर्ता गराएकाहरू सके आफैंले त्यसो गर्न नमिले आफन्तलाई आफूले टिकट नै पाए सरी सामाजिक सञ्जाल मार्फत प्रचार गराइरहेका छन्। उनीहरूको तर्क छ ‘बालेनले जनता भेटेर एजेन्डा बुझाएर चुनाव जितेको हो र। फेसबुकै प्रचारले चुनाव जितेको हो। बालेनलाई जनताले चिनेर भोट हालेका हुन् र सुनेर भोट हालेका हुन्। त्यसैले यो निर्वाचनमा पनि चिनेका भन्दा नचिनेकाले,देखेका भन्दा सुनेकाले चुनाव जित्छन्। त्यो पात्र मैँ हुँ।’

यी सबै प्रवृत्तिले साबिक रास्वपा पालिका पालिकामा प्रतिरक्षात्मक भइसकेको छ। नव रास्वपा उत्साहित भइरहेका छन्। तर हिजो र आज रास्वपाका दुई नेताले सामाजिक सञ्जालमा नव रास्वपालाई लक्षित गरेर फायर खोलेपछि एक्कासि उनीहरूको मन धमिलो भएको छ। झापा ४ का सांसद शम्भु सुस्केराले नव रास्वपालाई उहिलेका चैते काँग्रेससँग तुलना गरेका छन्। खासमा २०४७ सालपछि आफ्ना विगतका कर्तुत र कारबाही छोप्न पञ्चहरू काँग्रेसमा हुलका हुल प्रवेश गरे। उनीहरू सक्कली काँग्रेस भए। अनि उहिले तिनै पञ्चहरुँग लडेका, उनीहरूले अन्याय गरेका ओरिजिनल काँग्रेसहरूमा माथि पञ्च काँग्रेसले शासन गर्न थाले। त्यस बेला यस्ता नव प्रवेशी काँग्रेसलाई चैते काँग्रेस भनेर देशैभरि छि छि दुरदुर गरिन्थ्यो। तर नेताहरूसँग यिनै चैतेहरूको पहुँच थियो। बिस्तारै नेताहरू आफ्ना पुराना नेता कार्यकर्तालाई भुलेर चैतको मायामोहमा फसेका थिए। नेता शम्भुले भने झैँ धमिरा रुपी चैते काँग्रेसले भित्री भित्रै काँग्रेस खाए। काँग्रेस मक्कियो। अन्ततः काँग्रेस भाँच्चियो पनि।

२०६४ सालमा माओवादी उस्तै ठुलो शक्ति बनेर निस्कियो। उसका अगाडी न गिरिजा प्रसाद कोइरालाको हैसियत थियो न माधव नेपाल वा केपी ओलीको। शान थियो त केवल प्रचण्डको थियो, बादल र बाबुरामहरूको थियो । तर ठुलो पार्टीको केही महिना नबित्दै उ बेला जनमोर्चातिर लागेर माओवादीको भण्डाफोर गर्दै हिँडेका नवप्रवेशी पार्टीमा हालीमुहाली मच्चाउन थाले। फ्रन्ट सिटमा पूर्व जनमोर्चाहरू बस्थे। पछिल्लो सिटमा पुरानो सत्ताका विरुद्ध बन्दुक र बारुद बोकेकाहरू बस्थे। अग्र सिटमा बस्नेले पश्च सिटमा बस्नेलाई आदेश दिन्थे। उनीहरू कमान्डरले सिपाँहीलाई अह्रा एझैं लुरुलुरु आदेश पालना गर्थे। ठुलो आकारको माओवादीमा एमालेका केही तरमाराको प्रवेश गर्ने लहर चल्यो। यसमा मुख्यतः विश्वविद्यालयका प्राध्यापक, अस्पतालका डाक्टर,कर्मचारीका सहसचिव,सचिव,सडकका इन्जिनियर,गाउँका मुखिया,सहरका धनाढ्यले माओवादी भरियो । उनीहरू र माओवादबीच भेट हुने सेतु कहीं पनि थिएन। उनीहरू तर मार्न त्यहाँ पुगेका थिए। यी तर माराको काम आफ्नो पूर्व संलग्नताको पार्टीलाई सकेसम्म गाली गर्ने वर्तमानका नेता र पार्टीको सकेसम्म स्तुति गाउने थियो। सत्तामा भएको पार्टीमा नयाँ र पुराना बीच द्वन्द्व भयो। ओरिजिनल माओवादीहरूले स्कुल जाने बेलामा जङ्गल गएका थिए। कलम समाउने बेलामा बन्दुक समाएका थिए। शैक्षिक योग्यताको प्रमाण पत्र लिने बेलामा पार्टी सदस्यता लिएका थिए। खुला राजनीतिमा आए पछि ति कुनै पनि योग्यताले काम गरेन। उनै तरमाराले आफू अनुकूल बनाएका क्राइटेरियाले स्वत ओरिजिनल माओवादीलाई दर्शकदिर्घामा पुर्‍यायो। नवमाओवादलाई विभिन्न ठाउँमा सत्तामा पुर्‍यायो। अब कार्यकाले हाकिम तरमारा माओवादी भयो । ओरिजिनल माओवादी कार्यलयको गार्ड भयो। तरमारा माओवादी विज्ञ कोटामा सांसद भयो । राजदूत भयो । मन्त्री भयो । ओरिजिन माओवादी पियन भयो। ओरिजिनल माओवादीलाई जनताको माया थियो। तरमारा माओवादीलाई द्रव्य र सत्ताको माओ थियो। जनतासँग तरमारा माओवादीको सम्बन्ध गोरु बेचेको पनि थिएन। त्यसैले जनता सधैँ बहिष्कृत भइरहे। अन्ततः ६ वर्ष नपुग्दै माओवादी खुम्चियो। तरमारा छोडेर अन्यत्रै फड्किए। अहिले रास्वपमा यही प्रवृत्तिको पुनरावृत्ति हुन खोजिरहेकोमा सुस्केराले चिन्ता व्यक्त गरेका छन्। उनले जसका विकृतिका विरुद्ध लड्नु छ। जसलाई विगतका कुकृत्य खोजेर जेल कोच्नु छ। उनीहरू नै टिकटका दाबेदार,उनीहरू नै टिकटका वितरणकर्ता। उनीहरूले चुनावी मैदानका कमान्डर अनि उनीहरू नै भावी पालिका प्रमुख,उपप्रमुख । यो प्रवृत्तिको समूल नष्ट गर्नुपर्दछ भन्ने मान्यता साबिक रास्वपा र शम्भु जस्ता नेताहरूको छ।

शम्भुपछि अर्की चर्चित नेतृ ज्वाला संग्रौलाको नयाँ स्टाटस आयो। उनले त सिधै नवप्रवेशी रास्वपालाई ठेक्का पट्टा र कमिसन हत्याउन रास्वपा प्रवेश गरेको आरोप लगाएकी छिन्। उनले लेखेकी छिन् ‘ठेक्का, पट्टा र कमिसन हत्याउन काँग्रेस, एमाले परित्याग गरी हतार हतार रास्वपामा प्रवेश गरी रास्वापका पुराना र इमान्दार सदस्यहरुलाई विस्थापित गरी आफूलाई अबको स्थानीय तहको मेयर त मै हुँ नि भनी घोषणा गर्दै हिंड्ने एक दुई जना साथीहरु देखेर छक्क परियो । तर पार्टीले त्यस्ता मान्छेलाई एकएक गरी चिन्छ अनि पाखा लगाउँछ।’

यति मात्र होइन महिनादिन जति अघि सभापति रवि लामिछानेले अबको टिकट नयाँ भन्दा साविक रास्वपालाई दिने घोषणा गरे पछि नवप्रवेशी रास्वपा निराश छन्। उनीहरु अब कसरी टिकट लिने भन्ने नयाँ रणनीति बनाउने वा स्वतन्त्र भएर उम्मेद्वार हुने भन्ने दोधारमा छन्। रोचकचाँही के छ भने पुराना र नयाँ रास्वाप गरी हरेक पालिकामा गच्छे अनुसार १५ भन्दा बढी नै पालिका प्रमुखका दाबेदार छन् रास्वपाम । उनीहरुको व्यवस्थापन वडाअध्यक्षमा हुन्छ वा नेतृत्वले वेवास्ता गरेर आफूले चाहेको व्यक्तिलाई टिक दिन्छ। त्यसपछि नयाँ खेल सुरु हुने विष्लेषकहरुको अनुमान छ। प्रमुख हुने उत्कट अभिलासाले रास्वपा छिरेका नव प्रवेशीहरुले एकाएक उम्मेद्वारी घोषणा गरे भने साविक रास्वपा बुमर्याङ खाने निश्चित छ।