अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरु

मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरु


झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन्।

मेची नदीको पानी बोकेर मंगलबार पदयात्रामा निस्किएका सिंहले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको बताएका छन्।

जनकपुरको जानकी मन्दिर परिसरबाट सोमबार सुरू गरिएको पदयात्रालाई झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाइएको हो। पदयात्राका क्रममा मेची नदीको पानी संकलन गरेर महाकालीसम्म पुर्‍याउने र पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता तथा नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको उनले बताए।

पदयात्राका क्रममा सिंहले नेपाल सरकारले ठेक्का तोडेको कन्काईमाई नदीमाथि हुलाकी सडकअन्तर्गत निर्माणाधीन पुलको समेत अनुगमन गर्ने बताएका छन्। उक्त पुलको अवस्थाबारे स्थलगत जानकारी लिने र निर्माणमा देखिएको समस्याबारे सरोकारवालासँग छलफल गर्ने उनको भनाइ छ।

सिंहको टोली उक्त पुल हुँदै महाभारा, गौरीगञ्ज र रङ्गेलीबाट विराटनगर पुग्ने तयारीमा रहेको छ।

यसैबीच, पदयात्राका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले आफ्नो पार्टीलाई विभाजन गर्न विभिन्न शक्ति लागेको दाबी गरे। पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिबाट पार्टीको अभियान प्रभावित नहुने बताए।

उनले विगतमा नेपालमा विसं २०१५ र २०७४ मा दुई तिहाइ बहुमतको सरकार बने पनि विभिन्न देशी तथा विदेशी शक्तिका कारण अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे । अहिले आफूहरूले पनि यस्तै खालका चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो।

वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने दाबी गर्दै सिंहले सरकारलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

सिंह नेतृत्वको मेची-महाकाली पदयात्रामा झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र झापा क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा ढकालसमेत सहभागी छन्।

यात्राका क्रममा विभिन्न बस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्ने, स्थानीय उत्पादन, बजारीकरण, रोजगारी तथा आर्थिक सम्भावनाबारे जानकारी संकलन गर्ने कार्यक्रम रहेको छ। नागरिकले भोगिरहेका न्यायिक तथा कानुनी समस्या, सरकारी सेवा प्रवाहका कठिनाइ र तीनै तहका सरकारबाट हुनुपर्ने नीतिगत सुधारका विषयसमेत अभिलेखीकरण गरिने जनाइएको छ।

यात्राबाट संकलित सुझाव तथा समस्यालाई काठमाडौं फर्किएपछि संसद्, सरकार र नीतिनिर्माणको तहसम्म पुर्‍याउने सांसद सिंहले बताएका छन्।