अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छ : रेनु दाहाल

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छ : रेनु दाहाल


भरतपुर – धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ ।

फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गर्ने महानगर प्रमुख रेणु दाहालले बताउनुभयो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरूपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगर रंगशालाको स्वामित्व लिने अघि बढेको उहाँको भनाइ छ ।

सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने उहाँले बताउनुभयो ।

‘रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग जुटाएर सहयोग गरेको हो । महायज्ञ लगाएर १७–१८ करोड पनि जुटेको हो । चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् । तर, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुन सहयोगको आशा गरिएको थियो, त्यो जुट्न सकेन । फाउन्डेसनले पनि आर्थिक अभाव देखाएर सकिन भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ दाहालले भन्नुभयो ।