अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता


दमक -झापाको कमल गाउँपालिका–५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् ।

आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो क्षेत्रका राजनीतिक, सामाजिक अगुवाबीच अन्तक्र्रियात्मक छलफल कार्यक्रममा सहभागीले समाधिस्थल व्यवस्थित बनाउन गुरुयोजना बनाउने तथा आदिवासी रङ्गशाला निर्माणलाई अघि बढाउनुपर्ने औँल्याउनुभएको थियो ।

उक्त भेलाबाट समाधिस्थललाई व्यवस्थित गर्न धीरेन्द्र सम्वाहाम्फेको संयोजकत्वमा देवेन्द्रराज आङदेम्बे सदस्यसचिव रहेको नौ सदस्यीय समाधिस्थल व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले तत्कालै समाधि व्यवस्थित गर्ने, समाधिस्थलमा अत्यावश्यक शौचालय, मलामी विश्रामघर निर्माणलगायत आवश्यक सरसफाइको काम गर्ने जनाइएको छ । दीर्घकालीनरूपमा समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै सांंस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हुकुमसिहं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारसमेत रहनुभएका सांसद महेन्द्रकुमारी लिम्बू, सल्लाहकार नित्यानन्द ताजपुरिया, सूर्य योक्पाङदेन, किराँत राई, यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राई, आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई, किराँत राई यायोक्खा कमलगाउँ अध्यक्ष सन्तोष राई, किराँत याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र लिम्बूलगायतले समाधिस्थल व्यवस्थित आवश्यक भएको भन्दै त्यसमा सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।