अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका


दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटमा एक जना मृत फेला परेका छन् ।

स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरी टोली फर्किएको डीएसपी भट्टले बताउनुभयो ।

शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरी आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।

घटनाबारे जानकारी दिँदै दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘मृतकले ६ गते राती स्थानीय एउटा पसलमा मदिरा खाएको बुझिएको छ । बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ । हत्या भए/नभएको बारे पोस्टमार्टम रिपोट आएपछि थाहा हुन्छ ।’

घटनाको छानबिनका लागि प्रहरीले स्थानीयहरूसँग सोधपुछ गरिरहेको छ । शव एक जना स्थानीयको घर नजिकै फेला परेको बताइएको छ ।

ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रूपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झैँ झगडा तथा हिंसाजन्य घटनाहरू बढ्दै गइरहेका छन् ।