अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रोपटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर

तेस्रोपटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर


बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज अपराह्नदेखि हिमपात सुरु भएको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो

बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ । यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । बिहानैदेखि वर्षा  भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो ।

हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन् । बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ ।‘ सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजमार्ग क्षेत्रमा भारी हिमपात भएको छ, सवारी आवागमन रोकिएको छ । हिउँ पर्ने क्रम जारी छ । बाटो खोल्ने प्रयास गरिरहेका छौँ ।‘ यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ । बाहिर निस्कनै मुस्किल भएको छ ।‘

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।  वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।