अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेलमा आमसञ्चार विधेयक पारित

धुलिखेलमा आमसञ्चार विधेयक पारित


काभ्रे- धुलिखेल नगरपालिकाको दशौँ विधेयक अधिवेशनमा पेस भएका मध्ये तीन वटा विधेयक बिहीबार बसेको बैठकले सर्वसम्मतबाट पारित गरेको छ । प्रस्तुत भएका विधेयक उपर कसैको विरोध नभए पछि सभाका अध्यक्ष नगर प्रमुख अशोक ब्याञ्जुले सर्वसम्वत पास भएको घोषणा गर्नु भएको थियो ।

‘नगरपालिकाको दशौँ विधेयक अधिवेशनमा पाँचवटा विधेयक पेस भएका थिए’–प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव तारानाथ लुँईटेलले भन्नुभयो–‘पेस भएका मध्ये नगरपालिकाको राजपत्र सम्बन्धी विधेयक २०७८, धुलिखेल नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ र आम सञ्चार विधेयक २०७८ सर्वसम्मते पास गरेको छ ।’ माघ २५ गते बस्ने अर्को बैठकले स्थानीय सेवा विधेयक २०७८, धुलिखेल नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७८ का बारेमा छलफल गरी निर्णय गर्नेछ ।

स्थानीय सरकारहरूले आमसञ्चार विधेयक पास गरेको जिल्लामा पहिलो हो । ‘संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चार माध्यमको दिगो विकास र प्रवर्द्धन एवम् सञ्चारकर्मीको स्वतन्त्रतालाई सुनिश्चित गर्न वाञ्छनीय भएकाले धुलिखेल नगरपालिका सभाले नेपालको संविधानको धारा २२६ (१) बमोजिम धुलिखेल नगरपालिका आमसञ्चार ऐन २०७८ पारित गरेको हो’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पत्रकारिता क्षेत्रको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितका लागि पत्रकार कल्याणकारी कोष स्थापना र सञ्चालन गर्न, उक्त कोषमार्फत जेष्ठ पत्रकार सम्मान वृत्ति, श्रमजीवी पत्रकार छात्रवृत्ति, तालिम, पत्रकार लेखन वृत्ति तथा पुरस्कार र पत्रकार बिमा सञ्चालन गरिने छ ।’’

नगर प्रमुख ब्याञ्जुले आमसञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरू सम्बन्धी अन्य व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ । धुलिखेल नगरपालिकाले हालसम्म ८५ वटा भन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । बिहीबार पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ मा पशुको ओसारपसार मापदण्ड, महामारी लागेको क्षेत्रबाट पशुपक्षी ओसारपसार गर्न रोक लगाउने जस्ता विषय विधेयकमा समेटिएको छ ।