अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।  

‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ’, मन्त्री पौडेलले भन्नुभयो, ‘अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।’ कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदैआएको बताउनुभयो । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उहाँको भनाइ छ।  

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गर्नुभयो । उहाँले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताउनुभयो ।

मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताउनुभयो ।