काठमाडौं-पछिल्लो १२ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६:२० बजे सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकका दुई मौसम मापन केन्द्रमा भएको छ।
महाशाखाका अनुसार मेलम्ची घ्याङमा ६४.२ मिलिमिटर र भोताङमा ६१.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, कास्कीको घलेखर्कमा ५१.६ मिलिमिटर र मालेपाटनमा ४५ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा भएको छ।
वर्षाका कारण विशेषगरी नदी तथा खोलानालाको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया