काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरी सहयोग गर्ने घोषणा गरेका छन्।
सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाढीपीडितका लागि एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०-१० लाख रुपैयाँका दरले प्रदान गरेको जम्मा २० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले विपद्को घडीमा पीडित नागरिकको साथमा उभिन पार्टीले व्यापक सहयोग अभियान सञ्चालन गरेको जानकारी दिए।

अध्यक्ष ओलीले एमालेले सरकारको भर मात्र नपरी आफ्नै स्रोत, जनसहभागिता र सहयोगीहरूको योगदानमार्फत राहत कोष विस्तार गरिरहेको बताउँदै राहत, उद्धार र पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए। संकलित रकम आवश्यकताअनुसार प्रभावित क्षेत्रका नागरिकहरूको राहत, आवास पुनर्निर्माण तथा पुनर्स्थापनामा खर्च गरिने उनको भनाइ थियो।
राहत वितरण प्रभावकारी र छिटो हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितले तत्काल आवश्यक सहायता पाउने व्यवस्था सबैभन्दा महत्वपूर्ण रहेको बताए। सरकारी प्रक्रियागत ढिलाइका कारण राहत वितरणमा अवरोध आउन नहुने उल्लेख गर्दै उनले वास्तविक पीडितसम्म प्रत्यक्ष र शीघ्र सहयोग पुर्याउने मोडालिटी अपनाइने स्पष्ट पारे।
‘हाम्रो उद्देश्य कोषमा रकम थुपार्ने मात्र होइन, संकटमा परेका नागरिकको जीवन बचाउन र उनीहरूको दैनिक जीवन पुनः सामान्य बनाउन तत्काल सहयोग पुर्याउनु हो,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपालीलाई मानवीय भावनाका साथ सहयोगमा जुट्न आह्वान गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन निजी हेलिकप्टर, तालिमप्राप्त स्वयंसेवक र दक्ष जनशक्तिको अधिकतम उपयोग गर्नुपर्ने धारणा राखे।
एमालेले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकलाई पनि सहयोग अभियानमा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया