काठमाडौं-नेकपा (एमाले) ले आगामी असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार तीन दिनसम्म चल्ने बैठकमा पार्टी संगठन सुदृढीकरण, पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ।
बैठकको प्रमुख एजेन्डाका रूपमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले छलफल गरी आवश्यक सुझाव तथा निर्णय लिने जनाइएको छ।
एमालेले पार्टीको संगठनात्मक अवस्था, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्न उपाध्यक्ष थापा संयोजक रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले देशभरबाट सुझाव सङ्कलन गरी पार्टी सुदृढीकरणका लागि आवश्यक सुझावहरू समेटिएको प्रतिवेदन तयार गरेको बताइएको छ।
प्रतिवेदन लेखनको जिम्मेवारी कार्यदलका संयोजक थापा र एमाले महासचिव शङ्कर पोखरेललाई दिइएको थियो। आगामी केन्द्रीय कमिटी बैठकले उक्त प्रतिवेदनका आधारमा पार्टीको भावी कार्यदिशा र संगठनात्मक पुनर्संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया