अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र संवृद्धिका लागि खेल आवश्यक छ : उपाध्यक्ष पौडेल

विकास र संवृद्धिका लागि खेल आवश्यक छ : उपाध्यक्ष पौडेल

मदन भण्डारी स्पोर्टस एकेडेमीमा आचार्य


काठमाडौं – मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

अधिवेशनले ध्रुव आचार्यको अध्यक्षतामा २२५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।  आचार्य यसअघि उपाध्यक्ष थिए । समितिको ८ सदस्यीय उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ, तेज विक्रम बस्नेत, तुल्सी मैनाली, शशीकुमार बर्मा र देवबहादुर कुंवर चयन भएका छन् । त्यस्तै महासचिव पुरेन्द्र विक्रम लाखें एवं उपमहासचिवमा मदन उप्रेती र सुवर्णा श्रेष्ठ छनोट भएका छन्।

त्यसैगरी सचिवमा मिलन राना, देवी वाग्ले, चन्द्र वन्दना राई, डा.शक्ति बस्नेत, सुजु मल्ल, मन्दिरा बस्नेत, अन्जना शिवाकोटी, सन्जु महर्जन र ऋषिकेश श्रेष्ठ चयन भएका छन् । निर्वाचनका लागि एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालको अध्यक्षतामा दीपक ज्ञवाली र बलबहादुर आचार्य सदस्य रहेको अध्यक्ष मण्डल गठन भएको थियो ।

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो । तर एमसीसी विरुद्धमा उत्रेकाको अवरोधका कारण उहाँ कार्यक्रममा आउन सक्नु भएन । उहाँको सट्टामा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।  महाधिवेशनको उद्घाटन गर्दै उहाँले व्यक्तिको अनुशाशनसँगै राष्ट्रको विकास र संवृद्धिका लागि खेल आवश्यक रहेको बताउनु भयो । अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको भन्दै उहाँले त्यसको परिपूर्ति मदन भण्डारी एकेडेमीले गर्न सक्ने जनाउनु भयो । ७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले महत्वपूर्ण भूमिका खेले पनि स्थायी सरकार नहुँदा त्यसलाई संस्थागत गर्न नसकिएको उहाँले बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुदै  ७५३ वटै स्थानीय तहमा कमिटी गठन गर्ने योजना बनाएको बताए । पालिकास्तरदेखि नयाँ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षीत गरेर सबल बनाउने र सबललाई व्यवसायिक बनाउन भूमिका खेल्ने उनले जनाए । एकेडेमीले आउदो खेलकुद दिवसको अवसरमा बृहत राष्ट्रिय खेलकुद कार्यक्रम गर्ने समेत उहाँले बताउनु भयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालले खेलकुदलाई खेलाडीमात्रका लागि नभइ आम नागरिकको स्वास्थ्य, मनोरन्जन र विकाससंग जोड्न आग्रह गर्नुभयो । सबैका लागि खेल आवश्यक रहेको बताउदै उहाँले स्थानीय स्रोत साधनको प्रयोग गरेर खेलकुदको विकासमा युवा जोस र जाँगर लगाउनुपर्ने बताउनु भयो ।

मदन भण्डारी वौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले स्पोर्टस एकेडेमीले खेलगतिविधिसँगै र जनताको बहुदलिय जनवादलाई फैलाउन काम गर्नुपर्ने बताउनु भयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले युवा जोस र जागरलाई खेलकुदमा लगाउन सके अनुशाशित युवा उत्पादन हुने र देशमा संवृद्धि हुने बताउनु भयो ।

उपाध्यक्ष पौडेलसहित विभिन्न ब्यक्ति सम्मानित

एकेडेमीले खेलकुदको संरक्षण र विकासमा भूमिका खेलेको भन्दै विभिन्न खेलाडी तथा खेल संरक्षकहरुलाई सम्मान गरेको छ ।

खेलकुदको विकास र संरक्षणमा सहयोग गरेको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवाल र निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, संस्थापक महासचिब तथा कराते खेलाडी पुरेन्द्र विक्रम लाखे,अर्का खेलाडी तथा प्रशिक्षक राजन पाइजा लगायतलाई  सो अवसरमा एकेडेमीले सम्मान गरेको थियो ।