अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, सञ्चालकविरुद्ध जाहेरी

झापाको सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, सञ्चालकविरुद्ध जाहेरी


झापा-झापाको बिर्तामोड–१ स्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका ३३ वर्षीय नरबहादुर बस्नेतको शंकास्पद मृत्यु भएपछि परिवारले केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। परिवारले सुधार केन्द्रमा कुटपिट भएको र उपचारमा लापरवाही गरिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

इलामको फाकफोकथुम गाउँपालिका–२, कोल्बोटेका बस्नेतलाई परिवारले मादक पदार्थ सेवनको लत छुटाउन तीन महिनाका लागि गत असोज २५ गते सुधार केन्द्रमा भर्ना गराएको थियो। भर्ना भएको दुई दिनपछि असोज २७ गते केन्द्रले उनी बिरामी परेको जानकारी परिवारलाई दिएको थियो। परिवारका सदस्य अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो।

मृतकका भाइ तारा बस्नेतले प्रहरीमा दिएको जाहेरीअनुसार केन्द्रका सञ्चालकले नरबहादुरलाई उपचारका लागि सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्‍याएका थिए। बिर्ता सिटी अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको थियो। शवगृहमा दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखिएको तारा बस्नेतले बताएका छन्।

परिवारका अनुसार घटनासँग सम्बन्धित सीसीटीभी फुटेजमा नरबहादुरलाई कोठाभित्र हातखुट्टा बाँधेर राखिएको र छटपटाइरहेका बेला केही व्यक्तिले उनको शरीर थिचेको दृश्य देखिन्छ। फुटेजमा एक व्यक्तिले उनको हातमा डोरी बाँधेको, अर्का व्यक्तिले गालामा थप्पड हानेको र अर्को व्यक्तिले लट्ठी बोकेको दृश्यसमेत देखिएको परिवारको दाबी छ। परिवारले उक्त फुटेजलाई आधार बनाउँदै सुधार केन्द्रमा कुटपिट भएको आशंका गरेको छ।

परिवारले कुटपिट तथा उपचारमा लापरवाहीका कारण नरबहादुरको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरे पनि मृत्युको वास्तविक कारण र घटनामा कुटपिटको भूमिका पुष्टि हुन बाँकी छ। जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनाको यथार्थ पत्ता लगाउन प्रहरी अनुसन्धान, चिकित्सकीय परीक्षण तथा अन्य प्रमाणको निष्कर्ष महत्त्वपूर्ण हुने देखिन्छ।