अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा १२३ मतदानस्थल

लमजुङमा १२३ मतदानस्थल


लमजुङ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ ।

चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार  चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ ।

त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०-१०, दोर्दीमा १६ र मस्र्याङ्दीमा २० मतदानस्थल रहेको जनाइएको छ । कार्यालयले स्थानीय तहको चुनावका लागि तयारी अघि बढाउँदै लगेको छ । जिल्ला निर्वाचन अधिकारी मिश्रले भन्नुभयो, ‘यही फागुन २० देखि २६ गतेसम्म दाबी विरोध कार्यक्रम वडावडामा हुनेछ । २० देखि २४ गतेसम्म नाम हटाउने, सच्याउने, उजुरी दिन पाइनेछन् भने २५ र २६ गते आन्तरिक काम गरेर २६ गते निर्वाचन आयोगमा पठाइने छ ।’

अघिल्लो निर्वाचन अर्थात् विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५मा प्रकाशित नामावालीमा एक लाख २२ हजार ८०६ जना रहेकामा सङ्ख्या बढ्दै जाने क्रममा अहिले नौ हजार ६६० मतदाता थपिएको कार्यालयले जनाएको छ ।