काठमाडौँ– नेपाली पत्रकारितासम्बन्धी अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्स्पेक्टिभस् अन जर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ।
नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको सो पुस्तक बेलायतको ख्यातीप्राप्त प्रकाशन गृह राउट्लेजले प्रकाशित गरेको हो।

नेपालको पत्रकारिता क्षेत्रबारे जान्नखोज्ने विश्वका अध्येताहरुलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताउनुभयो । उहाँले नेपालीपनसहितको नेपाली मिडिया र सोसाइटीलाई विश्लेषण गरेर विश्व दृष्टिकोणसहित पुस्तक तयार पारिएको जानकारी दिनुभयो । डा अर्यालको भनाइ छ, ‘ खासगरी मिडिया रिसर्च परम्परालाई अगाडि बढाउने एउटा महत्वपूर्ण घटना पनि हो यो। यसले हामी सबैलाई उत्साहित पनि बनाएको छ। नेपाली मिडियाको रिसर्च विस्तारै अगाडि आउँदै थियो। नेपालीपनसहितको नेपाली मिडिया र सोसाइटीलाई एनालाइज गरेर अन्तर्राष्ट्रिय लेन्सबाट यो पुस्तकलाई हेरिएको छ।’
नेपालको मिडिया इन्डष्ट्रिबारे जान्न चाहनेलाई पनि सो पुस्तक उपयोगी हुने आमसञ्चार अध्येता लक्ष्मण हुमागाईंले बताउनुभयो । नेपाल विज्ञापन बोर्डका अध्यक्षसमेत रहेका उहाँले पुस्तकमा नेपाली मिडियालाई व्यवसायिक रुपमा अघि बढाउन र त्यसमा गरिएको लगानीलाई खेर जान नदिन एउटै छुट्टै स्वायत्त नियमनकारी निकायको जरुरी भएको कुरालाई पनि औंल्याइएको बताउनुभयो।
अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित सो पुस्तक मिडिया अध्येताद्वय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गर्नुभएको छ । ३४२ पृष्ठ रहेको पुस्तक नेपालको पत्रकारिताको वस्तुस्थितिलाई विश्वमा परिचित गराउन महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास गरिएको छ।







प्रतिक्रिया