काठमाडौं-बाढीपछि विभिन्न स्थानमा फेला परेका थप करिब ९० शव काठमाडौंमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। शव व्यवस्थापनका विषयमा छलफल गर्न आज बेलुकी जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ।
विभिन्न स्थानबाट फेला पारिएका शवमध्ये करिब ९० वटा शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। काठमाडौंका जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार आईसीआरसीको प्रोटोकलअनुसार शव व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको छ।
यसअघि पनि पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन, २०८३ बमोजिम डीएनए नमुना सुरक्षित राखी शवको ‘व्यवस्थापन संरक्षण’ गरिएको थियो। त्यस्ता शव भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा व्यवस्थापन गरिएको थियो।
एसपी थापाका अनुसार थप शव सोही स्थानमा व्यवस्थापन गर्न सकिने वा नसकिनेबारे अध्ययन भइरहेको छ। गोकर्णेश्वरमा व्यवस्थापन गर्न सम्भव नभए ललितपुर र भक्तपुरका उपयुक्त स्थान खोजी गरिनेछ।
व्यवस्थापन गरिएका शवहरूको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा आफन्तले शव दाबी गरेमा डीएनए परीक्षणमार्फत पहिचान गरी शव उपलब्ध गराइनेछ।
शव दाबी गर्न महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने एसपी थापाले बताए।


प्रतिक्रिया