अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फाटेका मनहरु जोड्न गरिएको सफल प्रयास

फाटेका मनहरु जोड्न गरिएको सफल प्रयास


विधिको विधान, सृष्टिको चक्र अनुसार हरेक भाग्यमानी जोडिहरुले मात्र सन्तानहरुलाई जन्म दिन्छन् । तिनै सन्तानहरुको लालन पालन र शिक्षादिक्षामा आफ्नो जीवनको अधिकांश ऊर्जा खर्च गर्दछन । उनीहरुले न्यानो पारिवारिक माया र स्नेहका साथ आफ्ना बुढेसकालका सहाराहरुलाई हुर्काउँछन् । आमाबाबु जब बुढा हुन्छन्, अशक्त हुन्छन् तिनै सन्तानहरुको सहारा लिएर बुढेुकालको जीवन व्यतित गर्दछन् । यो रित प्रायः परिवारमा चलिरहन्छ ।

तर केहि परिवार त्यस्ता हुन्छन जहाँ भावना र आत्मियताले चल्नुपर्ने सम्बन्ध औपचारिकतामा सीमित हुन्छ । सानो तिनो कुरामा खटपट हुन्छ । परिवार भित्रैका सदश्यहरु बीच बेमेलको स्थिती खडा हुन जान्छ । विवाद चर्किंदै द्वन्द्वको स्थिति तर्फ धकेलिन्छ । सम्बन्धमा खाडल देखा पर्दछ । परिवारका सबै सदश्यहरु संगै बस्ने वातावरण बन्दैन । आपसमा भाँडभैलो चल्छ । यसरी पारिवारिक वेमेलको कुरा घरपरिवार, छरछिमेक, वडा कार्यालय हुँदै कीर्तिपुर नगरपालिकाको न्यायिक समिति सम्म न्याय पाउँ भन्ने विषयमा उजुरीको रुपमा आई पुग्छ ।

कुरा मिति २०७६ साल असोज १० गतेको हो । कीर्तिपुर नगरपालिका वडा नं ६ निवासी ६५ वर्षका एकल पुरुष नरबहादुर महर्जन आफ्नी विवाहित छोरीको साथ कीर्तिपुर नगरपालिका कार्यालयमा आउनुभयो । आफ्ना एकमात्र छोरा महन्त महर्जन र बुहारी शकुन्तला महर्जनले ईज्जत आमद अनुसार खानलाउन नदिएको, छोरा बुहारीले बिरामी हुँदा समेत हेरचाह नगरेको, आफ्नो नाममा रहेको जग्गाको लालपुर्जा र नागरिकता समेत उनीहरुले नै लिएको र आफु विजोग अवस्थामा रहेको र मागेर जीन्दगी गुजार्नु पर्ने अवस्था रहेको उजुरी न्यायिक समितीमा दिनुभयो । (उजुरी नं २०÷ आ.व. २०७५÷७६)

नरबहादुर महर्जनको उजुरीलाई यसरी छलफल गरियो
नेपालको संविधानको धारा ४१ मा व्यवस्था भए बमोजिम ज्येष्ठ नागरिकलाई विशेष संरक्षणको व्यवस्था रहेको छ । स्थानीय न्यायीक समिति र उक्त न्यायीक समितिको अधिकार क्षेत्र सम्बन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ को (१) मा व्यवस्था भएको न्यायीक समितिको अधिकार क्षेत्र भित्र पर्दथ्यो । त्यसैले उक्त उजुरीलाई न्यायीक समितिको ईजलासमा प्रवेश गराई २०७६ साल कातिक ५ गते दुवै पक्षलाई न्यायीक समितको ईजलासमा उपस्थित हुन आग्रह् गरियो ।

पहिलो चरणमा गरिएको उक्त छलफलमा दुवै पक्षका धारणा सुन्ने क्रममा बादीले उजुरी निवेदनमा उल्लेख गर्नु भए बमोजिम ईज्जत आमद अनुसार खानलाउन नदिएको, बिरामी हुँदा समेत हेरचाह नगरेको, मर्यादित व्यवहार नगरेको, छोरा महन्त महर्जन र आफ्नो नामको संयुक्त खातामा सहकारीमा जग्मा रहेको रकम समेत आफुलाई जानकारी नै नदिई किर्तेगरी हिनामिना गरेको लगायतका बिषयहरु राख्नुभयो ।

प्रतिवादीको तर्फबाट छोरा महन्त महर्जन र बुहारी शाकुन्तला महर्जनले बाबु महन्त महर्जनलाई ईज्जत आमद अनुसार नै खानलाउन दिएको जिकिर गर्नुभयो । तर निजले छोरा बुहारीसंग बस्न मन नगरेको साथै गलत मनसाय राखि छरछिमेक एवं विवाहित छोरीहरुले दिएको सल्लाहका कारण परिवारमा फाटो आएको तर अझै पनि आफ्नो बाबुलाई सम्मान हेरचाह र पालन पोषण गर्न आफुहरु प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो । यसै सन्दर्भमा स्थानीयहरुको दैलोको सरकारको रुपमा रहेको स्थानीय सरकार, एवं उक्त सरकारको एक अंगको रुपमा रहेको न्यायीक समिति र उक्त न्यायीक समितिमा रहनु भएका नगर उप–प्रमुख एवं न्यायीक समित संयोजक सरस्वती रिजाल खड्का, सदस्य द्वय सुनिता नकर्मी र मिलन महर्जनले यो समस्यालाई निर्णय भन्दा मेलमिलापको बाटोबाट टुङ्याउँदा दुवै पक्षले जित्ने निष्कर्ष निकाल्नुभयो । त्यसका लागि विभिन्न चरणमा छुट्टा छुट्टै र संयुक्त रुपमा मेलमिलापमा विभिन्न चरणहरु र संभावित उपायहरु प्रयोग गरी छलफलमा राख्नु भयो ।

फाटेका मनहरु यसरी बाँधिए
उक्त छलफल पश्चात दुवै पक्ष सोही दिन देखि बाबु नरबहादुर महर्जन र छोरा बुहारी घरमा संगै बस्ने, संगै खाना खाने एक अर्कालाई मर्यादित व्यवहार गर्ने, बाबु नरबहादुर महर्जनलाई स–सम्मान ज्येष्ठ नागरीकको हैसियतमा पालन पोषण गर्ने प्रतिवद्धता गर्नुभयो । उक्त प्रतिवद्धता मुताविक बाबु नरबहादुर महर्जन पनि बस्न मञ्जुर भई छोरा बुहारी एवं नाति नातिनासंग संगै बस्ने र बाँकी जीवन परिवारसंगै हाँसिखुशि बिताउने बिचार खुशी साथ प्रकट गर्नुभयो । दुवै पक्षले अव आईन्दा एक अर्कालाई चित्त दुख्ने गरी दुर्बचन कदापी प्रयोग नगर्ने, पारिवारीक मर्यादा र सम्मान कायम राख्ने र कुनै समस्या आईपरेमा पुन नगरपालिका कार्यालयमा उपस्थित भई आफ्ना कुरा राख्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यसरी उक्त दिनमा उहाँहरु दुवै पक्षलाई नियमित तारेख हाजिरमा रहने गरी घर पठाइयो । त्यस पछिका दिनहरुमा निजहरु दुवै पक्ष मासिक रुपमा नगरपालिका कार्यालयमा तारेख हाजिरमा संगसंगै हासिखुशिका साथ आउने गर्नु भएको छ । हरेक महिना हुने न्यायीक समितिमा उहाँहरुलाई आवश्यकता अनुसार छुट्टा छुट्टै एवं संयुक्त रुपमा धारणाहरु बुझी परामर्शहरु दिने गरिएको छ । विभिन्न माध्यमबाट बुझ्दा उहाँहरु घरमा संगै साथ साथै पारिवारिका वातावरणमा बस्न थालेको समेत बुझिन आएको जसबाट न्यायीक समितिले गरेको एउटा सानो प्रयासले परिवारमा खुशी छाएकोले उक्त प्रयासलाई न्यायीक समितिले अन्य यस्तै प्रकृतिका समस्या समाधानको लागि समेत नजिरको रुपमा लिने गरिएको छ ।

पारिवारिक संवेदनाका विषयहरुमा दुवै पक्षका धारणाहरु बुझी दुवै पक्षले जित्ने गरी संभव भए सम्म मेलमिलापको बाटोबाट टुङ्ग्याउन प्रयास गरिएमा मात्र दुवै पक्षलाई वास्तविक न्यायहुने पाठ यस किर्तिपुर नगरपालिका न्यायिक समितिले सिकेको छ ।

न्यायिक समितिकी संयोजक नगर उपप्रमुख खड्का भन्नुहुन्छ ‘हामीले नगरपालिका भित्र आउने धेरै घरेलु विवादहरुलाई यसरी नै मिलाएर पठाएका छौं । कीर्तिपुर नगरपालिकाको न्यायिक समिति नगरबासीका मुद्दा चर्काउन होइन, मन मिलाउन क्रियाशील छ । ’
(लेखक कीर्तिपुर नगरपालिकाका कर्मचारी हुनुहुन्छ)