अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरी आमा

मेरी आमा


“मैले तिमीहरूको कुरा मान्नुपर्ने छ र ?” डाक्टर, नर्स र मेरो करले कहिलेकाँही आमा बम्कन्छिन् ।

“मान्नुपर्छ आमा ! आफैँ जान्ने हुँदा दुःखमात्र पाइन्छ ।” मैले आमालाई सम्झाउन खोजेँ ।

“मेरो बाउबाजेले दिएको केटालाई त छोडेर हिँडे । तिमेरले भनेको कुरा मान्छु ?” आमाले गज्जबले जवाफ दिनुभयो ।

“कसरी आमा ?” मेरा आँखी भौ उचालिए ।

“भन्दिनँ म ।” आमा अर्कोतिर फर्किन् । मैले जिद्दी गरिरहेँ ।
…..

शिवमायालाई नयाँघर चित्त बुझेन । लिम्बूको छोरीचेलीले राजीखुशीले ज्वाइँ छान्ने अधिकार छ । राजीखुशीले नयाँघर पुगेर, म यो घरमा छु है ! भन्ने खबर दिन सक्छे । शिवमायाको उमेर त्यतिमाथि पनि पुगेको थिएन । दिदी, फूपुहरूसँग साथ लागेर धान नाचेता पनि कुटुम्बको छोरो रोज्ने मौका पाएकी थिइनन् । नदेखेको, नरोजेको कुटुम्बको घरमा पुग्दा उनलाई एकदमै विरक्त लाग्यो । उनी विरह गाउँदै कर्कले डाँडापाखामा डुल्थिन् ।

उनको विरहपनलाई त्यही गाउँकै एक महिलाले अध्ययन गरिन् । र, मनमनै आफ्नो देउरानी बनाउने निर्णय गरिन् ।

ती महिला हाङ्पाङको आङ्बुहाङसँग विवाह गरेका थिए । धेरै भाई रहेको परिवारको खन्तरेसँग विवाह गरेकोले उनलाई पनि खन्तरी नाम प्राप्त भएको थियो ।

खन्तरीका देवरको मेवाखोला वरक्मा बस्ने केदेम्मासँग घरबार भएको थियो । तर उक्त घरबार टुटेको थियो । टुटेको घरमा विरह गाउने शिवमाया सुहाउने देखेरै खन्तरीले आफ्नो माइतीगाउँको बुहारी भगाउने योजना बुनेकी थिइन् ।

आठराई क्षेत्रमा संक्रान्ति बजार प्रख्यात छ । हरेक महिनाको पहिलो शनिबार हाट लाग्छ उक्त बजारमा । ताप्लेजुङ, पाँचथर, तेह्रथुम र संखुवासभाबाट हाट भर्न तथा व्यापार गर्न पुग्छन् यस संक्रान्ति बजारमा । गाउँगाउँबाट मान्छेहरू आफूलाई चाहिने नुनतेल, लत्ताकपडा, चुराटीका, धागो किन्न पुग्छन् । नारीहरू चुराटीका, धागो विशेष किन्न पुग्ने गर्दछन् ।

बजार भर्न शिवमाया पुगिन् ।

संक्रान्ति बजार तल्लो है पट्टि दुइजना चुरौटे
गाउँघरमा बस्न मन छैन मलाई, धेरै छन् कुरौटे

यस्ता गीत डाँडापाखामा घाँसदाउरा तथा गोठालो गर्दा शिवमायाहरूले गाउने गर्दथे । उक्त बजारमै फरक योजनासहित पुगेकी शिवमायालाई आफ्नै जीवनको गीतजस्तै लाग्दैथियो ।

योजनामुताविक हाङ्पाङका तन्देरीहरू आइपुगे ।

तरुनी तन्देरीको जमघटमा ख्याली, पाःलाम र हाक्पारे गुञ्जिरहेको थियो । शिवमाया र आङ्बुहाङ्गे तन्देरीबीच ख्याली शुरु भयो ।

अब के हुन्छ भन्ने कुरा प्रष्ट भएकोले शिवमाया उति खुल्न सकेकी थिइनन् । जोरी खोज्न आउनेसँग गतिलो जवाफ फर्काउन सकिनन् । आङ्बुहाङ्गे तन्देरी त पाःलाम, ख्यालीका पारखी रहेछन् ।

सिम्ले गाउँमा फुलेको फूल टिपेर शिरमा सजाउने
हितचित्त मिलेछ भने घरबार बसाउने,
के छ लुङा तरेमाहरूको बिचार ?

शिवमायाको कुनै उत्तर नआएपछि आङबुहाङ्गे सोल्टीले फेरि बचनको तीर हाने ।

जारी कि नारी, मर्दको बचन हो
बोली र गोली सँगै छाडेकै हो ।

उताबाट लगातार शब्दवाणहरू आउन थालेपछि शिवमायालाई केही बोल्ने आँट आयो ।

खाला खेत छ छैन ?
गोठ, हल गोरु छ छैन ?
जारी कि नारी म पनि तयारी ।

शिवमायाबाट छिन्नेगरीकै जवाफ आयो । तर यति कुरा पनि खन्तरी दिदीबाट सिकेको थिइन् ।

आङ्बुहाङ्गे सोल्टी ताप्लेजुङ्कै चर्चित तीनताले साइँलीसँग धान नाच्ने जोडी थिए । शनिबारे हाटदेखि तोक्मे बजार, औंशी हाट, पुसे मेला, लाखेजात्रा कुनै पनि ठाउँ छोडेका थिएनन् यी जोडीले धान नाच्न । हाङ्पाङे सानु कान्छ र दोखुको तीनतले साइँली भनेपछि खालै जम्ने गर्दथ्यो ।

सानु कान्छासँग धान नाच्न धेरै गाउँको युवतीहरू लाम लाग्थे । तीन तले साइँलीले फुर्सद लिएको बेला या हाटबजार, मेला नआएको बेलामात्रै सानु कान्छासँग धान नाच्ने मौका जुथ्र्यो । यस्तो व्यक्तिसँग शिवमायाले के सवालजवाफ गर्नु र ! एकै वचनमै आफू तयारी भएको कुरा राखिन् ।

सानु कान्छाले आफ्ना साथीहरू प्रसाई कान्छा, खहरघरे, शेरमानेलाई लिएर आएका थिए । वचनले माने ठीकै छ, नमाने बलैले लाने योजना थियो ।

सानु कान्छा संक्रान्ति बजारको शनिबारे हाट आउँदैछ भन्ने सुनेर नजिकका तरुनीहरूले चाम्रे, छनुवा जाँड, चौठोको चौठो रक्सी लिएर बसेका थिए । तर सानुकान्छाले शिवमायातर्फ हात अगाडि बढाए र हात पाएपछि सबै तरुनीहरूलाई निराश पारेर गए ।

यता शिवमायाले भने माइतीले दिएको घरबाट अर्को घरमा गएर विद्रोह गरिन् ।
……

आमा कथा सुनाइरहँदा आमा निकै जोसिलो भएकी भाव देखाएकी थिइन् ।

(कल्पना आङ्बुहाङद्वारा लिखित ‘मेरी आमा’ पुस्तकबाट झिकिएको एक अंश । पुस्तक भोलि शनिबार विमोचन हुँदैछ)